
धनगढी । सुदूरपश्चिम प्रदेशसभा सदस्य प्रकाशबहादुर देउवालाई लगातार बैठकमा अनुपस्थित रहेको भन्दै सभामुख भीमबहादुर भण्डारीले पदमुक्त गरेका छन् ।

कैलाली निर्वाचन क्षेत्र नम्बर ५ (२) बाट नेपाली कांग्रेसका तर्फबाट निर्वाचित देउवा हाल अमेरिकामा छन् । प्रदेशसभा सचिवालयका अनुसार उनी २०८२ चैत २३ पछि बसेका कुनै पनि बैठकमा उपस्थित भएका छैनन् । लगातार २५ वटा बैठकमा अनुपस्थित भएपछि संविधान र प्रदेशसभा नियमावलीको व्यवस्थाअनुसार उनलाई पदमुक्त गरिएको हो ।
प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीका अनुसार नेपालको संविधानको धारा १८० (घ) मा प्रदेशसभालाई जानकारी नदिई लगातार १० वटा बैठकमा अनुपस्थित भएमा प्रदेशसभा सदस्यको पद रिक्त हुने व्यवस्था छ । सभामुखले बुधबारको प्रदेशसभा बैठकमा देउवालाई पदमुक्त गरिएको औपचारिक जानकारी गराउने तयारी गरेका छन् ।
देउवाले गत चैत २३ गते प्रदेशसभा सचिवालयलाई इमेलमार्फत आफू व्यक्तिगत कामका सिलसिलामा अमेरिका रहेको र स्वास्थ्य समस्या देखिएपछि चिकित्सकको सल्लाहअनुसार उपचार तथा विश्राममा रहनुपरेको जानकारी गराएका थिए । स्वास्थ्यमा पूर्ण सुधार भएपछि नेपाल फर्किएर संसदीय जिम्मेवारीमा सक्रिय हुने प्रतिबद्धता उनले पत्रमार्फत जनाएका थिए । देउवा जेन–जी आन्दोलनलगत्तै गत वर्ष भदौ २८ गते अमेरिका गएका थिए । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाका सहोदर भतिजा रहेका उनी पूर्वमन्त्रीसमेत हुन् ।
यसैबीच, प्रदेशसभा सचिवालयले देउवालाई आर्थिक वर्ष २०८२ र ८३ मा पारिश्रमिक तथा विभिन्न सुविधाबापत कुल १० लाख ३ हजार ५ सय रुपैयाँ भुक्तानी गरेको जनाएको छ । कर कटौतीपछि उनको बैंक खातामा ९ लाख १३ हजार ५ सय रुपैयाँ भुक्तानी भएको सचिवालयको विवरणमा उल्लेख छ ।
विवरणअनुसार मासिक ५६ हजार ५ सय रुपैयाँका दरले वार्षिक ७ लाख ७८ हजार रुपैयाँ पारिश्रमिक, धारा तथा बिजुलीका लागि २४ हजार, सञ्चार सुविधाबापत ३६ हजार र अतिथि सत्कारका लागि ८४ हजार रुपैयाँ उपलब्ध गराइएको थियो । यस्तै, निजी आवास मर्मतसम्भारबापत वार्षिक ३५ हजार रुपैयाँसमेत प्रदान गरिएको सचिवालयले जनाएको छ ।

