कालिका स्कुलको दुई लाख घुस काण्ड : वार्षिक ५० लाखको दोहोरो सुविधा रोकिएपछि लेखापालकै योजनामा घुस प्रकरणमा फसे बम

cp new add
Nisharg hospital

धनगढी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कैलालीको गौरीगंगा नगरपालिका–४ स्थित कालिका माध्यमिक विद्यालय व्यवस्थापन समितिका सदस्य तथा कार्यवाहक अध्यक्ष देवबहादुर बमलाई दुई लाख रुपैयाँसहित रंगेहात पक्राउ गरेको घटनामा नयाँ तथ्य र आरोपहरू बाहिरिएका छन्।

Nast Ad

अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले बिहीबार बमलाई पक्राउ गरेको हो। अख्तियारले विद्यालयका शिक्षक तथा कर्मचारीको पारिश्रमिक वृद्धि गरिदिने प्रलोभनमा घुस रकम लिएको आरोपमा उनलाई पक्राउ गरिएको जनाएको छ।

तर, बमलाई रकम दिने व्यक्ति भने सोही विद्यालयका लेखापाल सन्तोष पौडेल रहेको खुलेको छ। विद्यालय व्यवस्थापन समितिले विगतदेखि शिक्षक तथा कर्मचारीले लिँदै आएको दोहोरो तलब सुविधा कटौती गरेको पृष्ठभूमिमा यो घटना भएको भन्दै स्थानीयस्तरमा विभिन्न प्रश्न र आशंका उठेका छन्।

दोहोरो तलब कटौतीपछि सुरु भएको विवाद

कालिका माध्यमिक विद्यालयमा कार्यरत स्थायी शिक्षक तथा कर्मचारीले समेत विगत केही वर्षदेखि नेपाल सरकारबाट प्राप्त हुने तलबका अतिरिक्त विद्यालयको निजी स्रोतबाट थप रकम लिँदै आएको दाबी गरिएको छ।

प्रेसपत्रलाई प्राप्त एउटा कागजातअनुसार नेपाल सरकारको तलब स्केलअनुसार मासिक ४८ हजार ६८९ रुपैयाँसम्म तलब बुझ्ने शिक्षक तथा कर्मचारीले विद्यालयको निजी स्रोतबाट थप दुई हजारदेखि २९ हजार रुपैयाँसम्म लिँदै आएका थिए।

झन्डै आठ महिनाअघि स्थानीय दिलीप बोहरा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनेपछि भने स्थायी शिक्षक तथा कर्मचारीले समेत लिँदै आएको उक्त अतिरिक्त सुविधा रोक्ने निर्णय गरिएको थियो।

व्यवस्थापन समितिको उक्त निर्णयपछि विद्यालयको आन्तरिक स्रोत तथा अभिभावकबाट विभिन्न शीर्षकमा संकलन हुने रकमबाट वार्षिक करिब ५० लाख रुपैयाँ अतिरिक्त तलब–सुविधाका रूपमा खर्च हुनबाट रोकिएको दाबी गरिएको छ।

यही निर्णयपछि लेखापाल सन्तोष पौडेलसहित केही शिक्षक–कर्मचारीले व्यवस्थापन समितिका अध्यक्ष बोहरालाई घुस प्रकरणमा फसाउने योजना बनाएको आरोप लागेको छ। तर, योजनाअनुसार अध्यक्ष बोहरा नभई व्यवस्थापन समिति सदस्य तथा कार्यवाहक अध्यक्ष देवबहादुर बम अख्तियारको फन्दामा परेको स्थानीयको दाबी छ।

घटनाका बेला अध्यक्ष बोहरा बिरामी बच्चाको उपचारका लागि धनगढी आएका थिए। उनको अनुपस्थितिमा बमले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालिरहेका थिए।

छोरी विदेश पठाउन पैसा खोजिरहेका बेला ‘प्रलोभन’मा परेको दाबी

हाल अख्तियारको हिरासतमा रहेका देवबहादुर बमकी श्रीमती तुलसीदेवीका अनुसार उनकी छोरी विदेश जाने तयारीमा रहेकाले परिवारलाई तत्काल रकमको आवश्यकता थियो।

उनका अनुसार बमले विद्यालयको रकम भए केही समयका लागि चलाउन दिन सकिन्छ कि भनेर लेखापाल पौडेलसँग प्रस्ताव गरेका थिए। यही अवस्थालाई अवसरका रूपमा प्रयोग गर्दै पौडेलले अन्य शिक्षक तथा कर्मचारीसँग परामर्श गरी बमलाई रकम थमाउने र त्यसलाई घुसका रूपमा देखाएर अख्तियारमार्फत फसाउने योजना बनाएको परिवार पक्षको दाबी छ।

पौडेल र बमबीच रकम लेनदेनका विषयमा विगत पाँच–छ दिनदेखि कुराकानी भइरहेको बताइएको छ। बम कार्यवाहक अध्यक्ष भएका बेला शिक्षक तथा कर्मचारीले विगतमा लिँदै आएको निजी स्रोतको अतिरिक्त तलब सुविधा बढाइदिन पनि प्रस्ताव गरिएको दाबी छ।

तर, बमले उक्त विषयमा सोच्ने भन्दै तत्काल आफूलाई दुई लाख रुपैयाँ व्यवस्थापन गरिदिन आग्रह गरेको बताइएको छ। बिहीबार रकम पाएलगत्तै बम अख्तियारको टोलीको नियन्त्रणमा परेका थिए।

अध्यक्षलाई फसाउने योजना, सदस्य परे फन्दामा ?

व्यवस्थापन समिति र शिक्षक–कर्मचारीबीच विगतदेखि चल्दै आएको विवादकै परिणाम बिहीबारको घटना भएको स्थानीयको भनाइ छ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिलीप बोहराले लेखापालसहितका केही व्यक्तिले आफूलाई विगतदेखि फसाउने योजना बनाउँदै आएको दाबी गरेका छन्।

उनले देवबहादुर बमले ऋणका रूपमा मागेको रकमलाई षड्यन्त्रपूर्वक घुसका रूपमा थमाइएको हो भने लेखापालसहित योजना बनाउनेमाथि कारबाही हुनुपर्ने बताएका छन्। तर, यदि बमले वास्तवमै घुस लिएको पुष्टि हुन्छ भने उनीमाथि कानुनअनुसार कारबाही हुनुपर्ने उनको भनाइ छ।

बोहराले घटनाको निष्पक्ष र गहिरो छानबिन आवश्यक रहेको बताएका छन्।

प्रधानाध्यापकले पनि स्वीकारे दोहोरो सुविधा

विद्यालयका प्रधानाध्यापक युवराज कडेलले विगतदेखि स्थायी तथा करार सेवाका शिक्षक–कर्मचारीले सरकारी तलबबाहेक विद्यालयको निजी स्रोतबाट अतिरिक्त तलब–सुविधा लिँदै आएको बताएका छन्।

उनका अनुसार शिक्षक तथा कर्मचारीले डेढ महिनाअघि मात्रै उक्त दोहोरो तलब सुविधा पुनः कायम गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका थिए। उनीहरू यस विषयमा गौरीगंगा नगरपालिका कार्यालयसमेत धाउने गरेका थिए।

तर, विद्यालय व्यवस्थापन समितिले निजी स्रोतको दुरुपयोग हुने र अभिभावकमाथि आर्थिक भार पर्ने भन्दै शिक्षक तथा कर्मचारीलाई सरकारी तलबबाहेक अतिरिक्त तलब सुविधा उपलब्ध गराउन नसकिने अडान लिँदै आएको थियो।

लेखापालमाथि पनि उठ्यो प्रश्न

बमलाई फसाउने योजनाको मुख्य पात्र रहेको आरोप लागेका लेखापाल सन्तोष पौडेलले मासिक २१ हजार ५०० रुपैयाँ तलब पाउने भए पनि निजी स्रोतबाट थप २७ हजार १८९ रुपैयाँसम्म लिँदै आएको दाबी गरिएको छ।

विद्यालयमा स्थायी शिक्षक तथा कर्मचारीले समेत सरकारी तलबबाहेक यसैगरी अतिरिक्त सुविधा लिँदै आएको बताइएको छ।

अब व्यवस्थापन समिति सदस्य तथा कार्यवाहक अध्यक्ष बमलाई अख्तियारले दुई लाख रुपैयाँसहित पक्राउ गरेपछि घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग उठेको छ। साथै, विगतमा विद्यालयको निजी स्रोतबाट दोहोरो तलब तथा सुविधा लिने शिक्षक–कर्मचारी, त्यस्तो निर्णयमा संलग्न विगतका व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरूमाथि समेत छानबिन हुनुपर्ने आवाज उठ्न थालेको छ।

अख्तियारले भने बममाथि घुस लिएको आरोपमा अनुसन्धान अघि बढाइरहेको छ। यता विद्यालय व्यवस्थापन समिति र बम पक्षले भने घटनाको पृष्ठभूमि, रकम लेनदेनको उद्देश्य तथा यसमा संलग्न भनिएका अन्य व्यक्तिको भूमिकासमेत निष्पक्ष रूपमा अनुसन्धान गर्नुपर्ने माग गरेका छन्।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...