सुदूरपश्चिमका बिक्रम कोरियामा कसरी पहिलो नेपाली पाइलट बने ? यस्तो छ संघर्षको कथा

गाउँको सरकारी विद्यालयदेखि कोरियाको आकाशसम्म :अभाव, भाषा र संघर्षलाई चिर्दै सपनाको उडान भरेका बैतडीका बिक्रमको प्रेरणादायी कथा

cp new add
Nisharg hospital

धनगढी । सपना पूरा गर्न ठूलो ठाउँ, सम्पन्न परिवार वा सहज परिस्थिति नै चाहिन्छ भन्ने हुँदैन। आवश्यक हुन्छ, अठोट, निरन्तर मेहनत र कठिनाइसँग नडराउने साहस। यसको प्रेरणादायी उदाहरण बनेका छन्, बैतडीको दशरथचन्द नगरपालिका–१ मुडापका २३ वर्षीय बिक्रम सिंह भाट।

Nast Ad

सामान्य किसान परिवारमा जन्मिएका बिक्रमका बुवा प्रेमसिंह भाट रोजगारीका लागि भारतमा छन् भने आमा शान्ति भाटको साथ र सीमित आर्थिक स्रोतबीच उनले गाउँकै सरकारी विद्यालयबाट आफ्नो शैक्षिक यात्रा सुरु गरे।

राष्ट्रिय मावि पालीबाट प्राथमिक शिक्षा, गुरुखोलास्थित मणीलेक माविबाट एसईई र महेन्द्रनगरको कञ्चन विद्यामन्दिरबाट आईएस्सी उत्तीर्ण गरेका बिक्रमको सपना भने पढाइमा मात्र सीमित थिएन। बाल्यकालदेखि आकाशमा उड्ने सपना देखेका उनी सन् २०२३ मा एउटा सुटकेसभरि सपना बोकेर दक्षिण कोरिया पुगे।

तर कोरिया पुगेपछि पाइलट बन्ने यात्रा सोचेजस्तो सहज थिएन। नयाँ देश, नयाँ भाषा र नयाँ प्रणालीसँगै विदेशी नागरिकका लागि पाइलट बन्ने बाटोसमेत स्पष्ट र सहज थिएन। कोरियन भाषाको सामान्य ज्ञानसमेत नभएका बिक्रमले पढाइ, काम र दैनिक जीवनसँगै भाषा सिक्दै आफ्नो सपनासँग सम्बन्धित जानकारी खोज्न थाले।

उनको सोच थियो,‘सपना मेरो हो भने बाटो पनि मैले नै खोज्नुपर्छ।’

पाइलट बन्ने यात्राकै क्रममा अमेरिकी सैन्य पाइलट ज्यासन काटेजसँग भेट्ने अवसर पाएपछि उनको हौसला अझ बढ्यो।

तर चुनौती झन् ठूलो थियो। पाइलट प्रशिक्षणका अधिकांश विषय कोरियन भाषामै पढ्नुपर्थ्यो। विमान सञ्चालन, उड्डयन नियम, मौसम, नेभिगेसनलगायतका विषय नयाँ भाषामा बुझेर परीक्षा दिनुपर्ने थियो। त्यससँगै नियमित उडान प्रशिक्षण पनि जारी राख्नुपर्थ्यो।

एकातिर विश्वविद्यालयमा कम्प्युटर इन्जिनियरिङको अध्ययन, अर्कोतिर पाइलट प्रशिक्षण र आफ्नै खर्च धान्न काम। बिहान विश्वविद्यालयका कक्षा, त्यसपछि घन्टौँको यात्रा गरेर प्रशिक्षण, थाकेको शरीर लिएर उडान र राति अबेर घर फर्किने उनको दैनिकी बन्यो। उडान नभएका दिनमा पनि काम गरेर उनले आफ्नो जीवनयापन र पाइलट प्रशिक्षणको खर्च जुटाए।

यो यात्रामा उनले आफ्नै कमाइबाट करिब २० लाख रुपैयाँ खर्च गरेका छन्।

शरीर थाक्थ्यो, कहिलेकाहीँ मन पनि थाक्थ्यो। कतिपयले उनको क्षमतामाथि प्रश्न उठाए। तर बिक्रम अरूलाई गलत साबित गर्न होइन, आफूले आफैंलाई गरेको वाचा पूरा गर्न संघर्ष गरिरहे।

उनी भन्छन्,‘बोल्नुभन्दा धेरै काममा विश्वास गर्नुपर्छ। छिटो परिणाम खोज्नुभन्दा निरन्तरतामा विश्वास गर्नुपर्छ।’

अन्ततः वर्षौँको मेहनतले सफलता पायो। २० अगस्ट २०२६ मा पाइलटको परीक्षा उत्तीर्ण गरेसँगै बिक्रमको वर्षौँ पुरानो सपना नयाँ उचाइमा पुग्यो। उनका लागि त्यो एउटा परीक्षाको परिणाम मात्र थिएनस त्यसमा परिवारको विश्वास, संघर्ष, थकाइ र हार नमान्ने अठोट जोडिएको थियो।

गाउँको सरकारी विद्यालयबाट सुरु भएको उनको यात्रा कोरियाको आकाशसम्म पुगेको थियो। बिक्रमका अनुसार, कोरियामा पाइलटको परीक्षा उत्तीर्ण गर्ने पहिलो नेपाली बन्ने अवसर उनले पाएका छन्।

अहिले उनी स्पोर्ट एयरक्राफ्ट उडाउन थालेका छन् र आगामी दिनमा व्यावसायिक पाइलट बन्ने तालिमको तयारीमा छन्।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...