
बैतडी । बैतडीमा अशक्त तथा अपाङ्गता भएका नागरिकले अब घरमै नागरिकता पाउने भएका छन्। जिल्ला प्रशासन कार्यालय बैतडीले सञ्चालन गर्न लागेको ‘अशक्तको घरमा प्रजिअ’ कार्यक्रमअन्तर्गत उमेर पुगेका तर शारीरिक अशक्तता तथा अपाङ्गताका कारण नागरिकता लिन प्रशासन कार्यालयसम्म पुग्न नसकेका व्यक्तिलाई घरमै पुगेर नागरिकता प्रदान गर्ने तयारी गरिएको हो।

प्रमुख जिल्ला अधिकारी मीना अर्यालका अनुसार यसका लागि जिल्लाका १० वटै स्थानीय तहलाई शारीरिक अशक्तता तथा अपाङ्गता भएका नागरिकको विवरण सङ्कलन गरी पठाउन आग्रह गरिएको छ। स्थानीय तहबाट विवरण प्राप्त भएपछि सम्बन्धित पालिकासँग समन्वय र सहकार्य गरी नागरिकता वितरण गरिनेछ।
‘सबै स्थानीय तहबाट अशक्त तथा अपाङ्गता भएका नागरिकको विवरण माग गरेका छौँ,’ प्रमुख जिल्ला अधिकारी अर्यालले भनिन्, ‘विवरण आएपछि उहाँहरूको घर वा पायक पर्ने स्थानमा पुगेर आवश्यक प्रक्रिया पूरा गरी नागरिकता प्रदान गर्छौं।’
शारीरिक अशक्तता तथा अपाङ्गताका कारण जिल्ला प्रशासन कार्यालयसम्म पुग्न नसकेर नागरिकताबाट वञ्चित नागरिकलाई लक्षित गरी यो कार्यक्रम सञ्चालन गर्न लागिएको प्रशासनले जनाएको छ।
कार्यक्रमबाट विशेषगरी हिँडडुल गर्न कठिनाइ भएका, शारीरिक रूपमा अशक्त तथा प्रशासन कार्यालयसम्म पुग्न असहज हुने नागरिक प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ। नागरिकता लिन प्रशासन कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएकाले राज्यबाट प्राप्त हुने सेवा–सुविधा सहज रूपमा उपलब्ध गराउन कार्यक्रमले सहयोग पुग्ने प्रमुख जिल्ला अधिकारी अर्यालले बताइन्।

