
काठमाण्डौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा ब्यारोन ट्रम्पको हत्या गर्नेलाई १ करोड अमेरिकी डलर इनाम दिने दाबी गरिएको भिडियो सार्वजनिक भएपछि अमेरिका–इरान तनाव थप चर्किएको छ।

इरानको सरकारी टेलिभिजनसँग सम्बन्धित च्यानलबाट प्रसारित भनिएको भिडियोमा ब्यारोनलाई लक्षित गर्दै उनको सुरक्षा र गतिविधिबारे विवरण प्रस्तुत गरिएको दाबी गरिएको छ। यद्यपि, उक्त इनामसम्बन्धी घोषणा इरान सरकारको औपचारिक निर्णय भएको स्वतन्त्र पुष्टि भएको छैन। यसबीच अमेरिकाले इरानमाथि थप आर्थिक प्रतिबन्ध घोषणा गरेको छ। इरानले भने अमेरिकाले दबाब जारी राखे खाडी क्षेत्रबाट हुने तेल निर्यात रोक्न सक्ने चेतावनी दिएको छ।
स्ट्रेट अफ होर्मुज क्षेत्रमा तनाव बढिरहेका बेला ओमान नजिकै एउटा तेल ट्यांकरमाथि प्रहार भएको खबर पनि आएको छ। तनाव कम गर्न ओमानका विदेशमन्त्री तेहरान जाने तयारीमा छन्।
यसैबीच, इरानी बन्दरगाहतर्फ मानवीय सहायता बोकेका ४० भन्दा बढी जहाजलाई अमेरिकी नाकाबन्दी पार गर्न अनुमति दिइएको जनाइएको छ। दुवै पक्षबाट सैन्य चेतावनीसमेत आइरहेकाले अमेरिका–इरान द्वन्द्व थप गम्भीर बन्ने जोखिम बढेको छ

