राज्यको सम्पूर्ण शक्ति उद्धारमा लागेको छ: प्रधानमन्त्री बालेन

cp new add
Nisharg hospital

काठमाडौं । देशमा आइलागेको अकल्पनीय प्राकृतिक विपत्तिको घडीमा सरकारले उद्धार र राहत कार्यलाई तीव्रता दिएको छ ।

Nast Ad

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज एक सन्देश जारी गर्दै राज्यका सम्पूर्ण संयन्त्रहरू उद्धार कार्यमा परिचालित भएको र विपद्को यो घडीमा धैर्य र संयम रहन नागरिकहरूमा अपिल गरेका छन् ।

आज बिहान ६:३० बजेदेखि नै उद्धारका लागि हेलिकोप्टरका उडानहरू सुरु गरिएका छन् । हालसम्म १५ भन्दा बढी उडानहरू भइसकेका छन् भने थप हेलिकोप्टरहरू तयारी अवस्थामा राखिएका छन् ।

यसै क्रममा नेपाली सेनाले रसुवाको टिमुरेबाट ११६ जनालाई सकुशल उद्धार गरेको छ । उद्धार गरिएकामध्ये ९५ जना नेपाली र २१ जना भारतीय नागरिक रहेका छन् । यस्तै, एक टनेल (सुरङ) मा फसेका ७ जना नेपाली नागरिकलाई पनि सफलतापूर्वक बाहिर निकालिएको प्रधानमन्त्री बालेनले उल्लेख गरेका छन् ।

प्रभावित क्षेत्रमा राहत सामग्री पुर्‍याउने कार्य द्रुत गतिमा अघि बढाइएको छ । प्रधानमन्त्री बालेनका अनुसार जेनेरेटर, पोर्टेबल मोबाइल टावर, औषधि, टेन्ट तथा फलाम र ढुङ्गा काट्ने मेसिनहरू प्रभावित स्थलमा पुर्‍याइँदैछ । सञ्चार सेवा अवरुद्ध भएका स्थानहरूमा छिट्टै अस्थायी मोबाइल नेटवर्क र चार्जिङको व्यवस्था गरिने जानकारी दिइएको छ ।

उद्धार कार्यलाई थप प्रभावकारी र व्यवस्थित बनाउन सरकारले ‘ड्रोन सर्वे’ मार्फत तथ्याङ्क सङ्कलन गरिरहेको छ, जुन अहिले अन्तिम चरणमा पुगेको छ । नुवाकोटमा अस्थायी शिविर खडा गरी प्रभावितहरूका लागि खाना र पानीको उचित प्रबन्ध मिलाइएको छ । उद्धारको क्रममा विशेष गरी सिकिस्त बिरामी, वृद्धवृद्धा, महिला र बालबालिकाहरूलाई प्राथमिकतामा राखिएको छ ।

प्रधानमन्त्री बालेनले विश्वभर रहेका नेपाली र अन्तर्राष्ट्रिय समुदायको सहयोग र सहकार्यका लागि धन्यवाद व्यक्त गर्दै सबैलाई एकजुट भएर यो विपत्तिको सामना गर्न आग्रह गरेका छन् । ‘आशा र विश्वासका साथ हामी सबै एक भएर यो विपद्को डटेर सामना गर्नुपर्नेछ,’ प्रधानमन्त्री बालेनले भनेका छन्, ‘राज्यको सम्पूर्ण शक्ति उद्धारमा लागेको छ।’

सरकारले प्रभावित क्षेत्रमा राहत वितरणमा कुनै कसर बाँकी नराख्ने र छिट्टै जनजीवन सामान्य बनाउन पहल गर्ने प्रतिबद्धता समेत जनाएको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...