
धनकुटाको चौबिसे गाउँपालिका -७ ठुलो ढुङ्गामा छोराको चिरपट प्रहारबाट ७० वर्षीय बाबुको मृत्यु भएको छ। ३२ वर्षीय छोरा युवराज लिम्बुले काठको दाउरा (चिरपट) प्रहार गर्दा आफ्नै बुबा अन्दाजी ७० वर्षीय अमरध्वज लिम्बुको घटनास्थलमै मृत्यु भएको हो।

बिहीबार बिहान करिब ५:४५ बजे युवराजले बुबा अमरध्वजको टाउकोमा चिरपट प्रहार गरेका थिए। घटनाबारे बिहान ६:१५ बजे अस्थायी प्रहरी बिट मौनाबुधुकमा जानकारी प्राप्त भएको थियो। खबर पाउनासाथ प्रहरी सहायक निरीक्षक जयप्रकाश राय र इलाका प्रहरी कार्यालय राजारानीका प्रहरी निरीक्षक विजय थापाको कमाण्डमा प्रहरी टोली घटनास्थल खटिएको थियो।
घटनाको थप अनुसन्धान, खोजतलास तथा कानुनी प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी उपरीक्षक नारायण रञ्जितकारको कमाण्डमा समेत प्रहरी टोली खटाइएको छ।
घटनापछि फरार रहेका युवराजको खोजतलास गर्ने क्रममा बिहान करिब ८:१५ बजे घरबाट करिब ५०० मिटर दक्षिणतर्फको जंगलमा लुकिछिपी बसेको अवस्थामा उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

