
काठमाडौं । आज दिउँसो देशभर साधारणतया बादल लाग्ने मौसम पूर्वानुमान गरिएको छ। हिमाली र पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानमा तथा मधेश र कोशी प्रदेशका तराईका केही स्थानमा मध्यम वर्षा हुन सक्नेछ। कोशी, बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिमका केही भू-भागमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा भारी वर्षा हुने सम्भावना छ भने बागमती र गण्डकी प्रदेशका एक(दुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
मेघगर्जन, चट्याङ तथा भारी वर्षाको सम्भावना रहेकाले नदी तथा खोलानाला आसपासका क्षेत्रमा सतर्कता अपनाउन आवश्यक देखिएको छ।

