पहिचान गर्न नसकिने अवस्थाका शवको डीएनए संकलन गरी अन्त्येस्टि गर्ने चितवन प्रशासनको निर्णय


काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले भोटेकोशी बाढीमा परी चितवनमा संकलन गरिएका शवहरुमध्ये अधिकांश पहिचान गर्न नसकिने अवस्थामा रहेको र सडेर महामारी फैलिने जोखिम भएकाले सम्मानपूर्वक अन्त्येष्टि गरिने जानकारी दिएको छ ।
जिल्ला सुरक्षा समितिको शनिबार बसेको बैठकले ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ बमोजिम पहिचान हुन नसकेका तथा बेवारिसे शव जमिनमुनि व्यवस्थापन गर्ने निर्णय गरेको हो ।
प्रशासनले शनिबार एक सूचना जारी गर्दै हालसम्म भेटिएका २३३ शवमध्ये ८ जनाको मात्र पहिचान भएको र बाँकी २२५ शव भरतपुरस्थित होल्डिङ सेन्टर तथा विभिन्न स्वास्थ्य संस्थामा राखिएको जनाएको छ ।
होल्डिङ सेन्टरमा राखिएका पहिचान नभएका तथा बेवारिसे शवहरु सड्न थालेको जानकारी दिएको छ । प्रशासनले विभिन्न स्वास्थ्य कर्मीहरुको सुझावअनुसार शवका अवशेषहरु सड्दै जाँदा महामारी र संक्रमण फैलिन सक्ने जोखिम रहेकाले तत्काल व्यवस्थापन गर्न अन्त्येष्टिको निर्णय लिएको बताएको छ ।
सबै शवको डीएनए नमुना संकलन गरी संकेत नम्बरका आधारमा अभिलेख राखेपछि भरतपुर महानगरपालिका–१ देवघाटस्थित खुला स्थानमा शव व्यवस्थापन गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रशासनले यो निर्णयमा सहयोग, समन्वय र सूचना सम्प्रेषण गरिदिन सम्बन्धित सबैलाई आग्रह गरेको छ ।

