
प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा १ लाख २० हजार रुपैयाँ जम्मा गरेको भन्दै नक्कली स्टेटमेन्ट, क्यूआर र भौचर सार्वजनिक गरेको आरोपमा पक्राउ परेका भगवान कार्की राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का स्थानीय नेता रहेको खुलेको छ ।
रामेछापको गोकुलगंगा गाउँपालिका–२ ठोसेका स्थायी बासिन्दा कार्की गाउँपालिका कार्यसमितिका सहसचिवसमेत हुन् । उनी आगामी स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्ने तयारीस्वरूप रास्वपाको ‘क्याण्डिडेट क्लब’ मा समेत सहभागी भइसकेका थिए ।
कार्कीले राहत कोषमा १ लाख २० हजार रुपैयाँ जम्मा गरेको भन्दै सामाजिक सञ्जालमार्फत क्यूआर र भौचर सार्वजनिक गरेका थिए । उक्त विवरण शंकास्पद देखिएपछि उनलाई चिन्ने व्यक्तिहरूले प्रहरीलाई जानकारी गराएको बताइएको छ ।
रास्वपाकै केही कार्यकर्ताले कार्कीले उक्त रकम जम्मा गरेको विषयमा शंका व्यक्त गर्दै प्रहरीलाई सूचना दिएपछि जिल्ला प्रहरी कार्यालय रामेछापले ठोसे प्रहरी चौकीलाई जानकारी गराएको थियो । त्यसपछि प्रहरीले कार्कीलाई नियन्त्रणमा लिएर जिल्ला सदरमुकाम मन्थली ल्याएको बताइएको छ ।
गोकुलगंगा गाउँपालिका–२ का वडाध्यक्ष सुन्दर कार्कीका अनुसार प्रहरीले शनिबार राति नै गाडी पठाएर भगवान कार्कीलाई मन्थली लगेको जानकारी आफूले पाएका छन् ।
वडाध्यक्ष कार्कीले भगवान गाउँमा खेतीकिसानी गर्दै रास्वपाको राजनीतिमा सक्रिय रहेको बताए । उनका अनुसार कार्कीले राहत कोषमा १ लाख २० हजार रुपैयाँ जम्मा गरेको विवरण सामाजिक सञ्जालमा राखेपछि आफूहरूले पार्टीको तर्फबाट रकम जम्मा गरेको हुनसक्ने ठानेर तत्काल चासो नदिएको बताए ।
यद्यपि, उक्त रकम वास्तवमै जम्मा भएको हो कि होइन भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
यसैबीच, रास्वपा रामेछापका सभापति रमेश रायमाझीले घटनाबारे आफूले बुझिरहेको बताएका छन् । कार्कीले गलत गरेको पुष्टि भए पार्टीले अनुशासनअनुसार कारबाही गर्ने उनले बताए ।
प्रहरीले कार्कीलाई पक्राउ गरेको जानकारी पाए पनि घटनाको थप विवरण आफूले बुझ्ने प्रयास गरिरहेको रायमाझीले बताएका छन् ।

