
काठमाण्डौँ । भोटेकोशी बाढीपीडित राजकुमार डंगोललाई पूर्वमिस नेपाल आश्माकुमारी केसी, पूर्वमिस नेपाल इन्टरनेसनल तथा अभिनेत्री नीति शाह र त्रिसरा रेस्टुरेन्टले संयुक्त रूपमा ३ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन्।
गत १० भदौ बिहान रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण उत्तरगया–५, बेत्रावतीका राजकुमार डंगोलको परिवारले ठूलो क्षति बेहोर्नुपरेको थियो। बाढीले उनको घर तथा सम्पत्तिसहित श्रीमती विष्णुकुमारीको उपचारका लागि लामो समयदेखि जम्मा गरेको २५ लाख रुपैयाँ नगद र गरगहना समेत बगाएको थियो।
विष्णुकुमारी मिर्गौला रोगबाट पीडित रहेकाले उनको उपचारका लागि आवश्यक रकमसमेत बाढीले नष्ट भएपछि डंगोल थप संकटमा परेका थिए। आफ्नो पीडा सुनाउँदै उनले सामाजिक सञ्जालमार्फत सहयोगको अपिल गरेका थिए। उनको भावुक भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको थियो।
उक्त भिडियोमार्फत डंगोलको अवस्थाबारे जानकारी पाएपछि आश्मा केसी, नीति शाह र त्रिसरा रेस्टुरेन्टले संयुक्त रूपमा राहत रकम उपलब्ध गराएका हुन्। सहयोग हस्तान्तरणका क्रममा आश्मा केसीले प्राकृतिक विपत्तिका बेला पीडित परिवारलाई आफूहरू एक्लो नभएको अनुभूति गराउन समाजका सबै पक्षले आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्ने बताइन्।
उनले बाढीका कारण उपचारका लागि आवश्यक रकमसमेत गुमाएका परिवारको अवस्था अझ संवेदनशील हुने भएकाले उनीहरूलाई सहयोग र साथको आवश्यकता रहेको उल्लेख गरिन्। ‘हामीले दिएको रकमले उहाँको सम्पूर्ण समस्या समाधान नहुन सक्छ। तर उहाँको दुःखमा हामी पनि साथमा छौँ भन्ने अनुभूति गराउन सकियोस् भन्ने हाम्रो उद्देश्य हो,’ आश्माले भनिन्।
उनका अनुसार विपद्का कारण जीवनभरको कमाइ र उपचारका लागि जम्मा गरेको रकम गुमाएका परिवारलाई कठिन परिस्थितिबाट बाहिर निकाल्न सामूहिक प्रयास आवश्यक छ। समाजका विभिन्न क्षेत्रबाट सहयोग जुट्न सके पीडित परिवारलाई केही राहत पुग्ने उनको भनाइ छ।

