
नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले खाना पकाउने एलपी ग्यासको मूल्य महँगो भएको भन्दै भइरहेको आलोचनाको बचाउ गरेका छन्। उनले बजारमा ग्यासको मूल्य अन्य उपभोग्य वस्तुको तुलनामा महँगो नरहेको दाबी गर्दै एक किलो मासु र एक सिलिन्डर ग्यासको तुलना गरेका हुन्।
शनिबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको ‘बाढीपहिरोपछिको आपूर्ति तथा मूल्य शृंखलामा परेको प्रभाव र देखिएका चुनौती’ विषयक अन्तरक्रियामा बोल्दै साहले करिब २१ सय रुपैयाँ पर्ने एक सिलिन्डर ग्यासले एउटा परिवारलाई करिब दुई महिनासम्म पुग्ने बताए।
‘आज बजारमा एक किलो मासुलाई १७ देखि १८ सय रुपैयाँ पर्छ, जुन एक छाक वा एक दिनमै सकिन्छ,’ उनले भने, ‘तर करिब २१ सय रुपैयाँ पर्ने एक सिलिन्डर ग्यासले एउटा परिवारलाई दुई महिनासम्म पुग्छ। यस विषयमा हामीले गम्भीर भएर सोच्ने कि नसोच्ने ?’ सांसद तथा उपभोक्ता अधिकारकर्मीहरूले ग्यासको मूल्यवृद्धिको विरोध गरिरहेका बेला साहले ग्यासको मूल्यभन्दा आपूर्ति सहज हुनु महत्वपूर्ण रहेको तर्क गरे।
नेपालमा ग्यास उत्पादन नहुने र पूर्ण रूपमा आयातमा निर्भर रहनुपर्ने भएकाले मूल्यसँगै आपूर्तिको सुनिश्चिततालाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ। ‘२१ सय रुपैयाँ मूल्य हुनु ठूलो कुरा होइन। मुख्य कुरा उपभोक्तालाई प्राथमिकता दिएर उनीहरूको चुलो कसरी बाल्ने भन्ने हो,’ उनले भने, ‘यो सबैको साझा दायित्व हो।’
साहका अनुसार निगमले अहिले पनि प्रतिसिलिन्डर करिब ४ सय रुपैयाँ घाटा सहेर ग्यास बिक्री गरिरहेको छ। व्यवसायीहरूले समेत घाटामा कारोबार गर्नुपरेको गुनासो गरिरहेको उल्लेख गर्दै उनले ग्यास महँगो भयो भन्ने उपभोक्ताको गुनासोलाई पनि व्यावहारिक रूपमा हेर्नुपर्ने बताए।
रसुवामा आएको बाढी र पहिरोका कारण आपूर्ति प्रणालीमा थप चुनौती देखिएको भए पनि निगमले उपभोक्ताको हितलाई ध्यानमा राख्दै आपूर्ति सहज बनाउन अधिकतम प्रयास गरिरहेको साहले बताए।

