

२८ कात्तिक, धनगढी । १२ चैत २०३० सालमा शिवनाथ गाउँपालिकामा जन्मिएका सुरेन्द्र विष्ट नेकपा एमाले कञ्चनपुरका अध्यक्ष हुन् । २०७४ को स्थानीय तहको निर्वाचनमा भीमदत्त नगरपालिकाको मेयरमा निर्वाचित भएका विष्ट अहिले सुदूरपश्चिम प्रदेशसभा सदस्यका उम्मेदवार छन् ।
भारतको कुमाउ विश्वविद्यालयबाट समाजशास्त्र विषयमा स्नातक तहसम्मको अध्ययन गरेका विष्ट २०४६ सालको जनआन्दोलन हुदै राजनीतिमा सक्रिय भएका पात्र हुन् । २०४७ सालमा बैजनाथ माध्यमिक विद्यालयबाट राजनीतिक यात्रा सुरु गरेका विष्ट अनेरास्ववीयूको प्रारम्भीक कमिटिका सहसचिव थिए ।
अनेरास्ववीयूको जिल्ला कोषाध्यक्ष, सचिव, संयोजक, केन्द्रीय सदस्य, सुदूरपश्चिम इन्चार्ज हुँदै केन्द्रीय विभागीय प्रमुख पनि भइसकेका विष्ट २०५३ सालमा सिद्धनाथ बहुमुखी क्याम्पसको स्ववीयु सभापति चुनिएका थिए । २०५९ सालमा भीमदत्त नगर कमिटिको सदस्य हुँदै पार्टी राजनीतिमा प्रवेश गरेको विष्ट चौथो अधिवशनबाट जिल्ला सदस्य भए ।
पार्टीको जिल्ला कमिटि उपसचिव, सचिव र हाल अध्यक्ष रहेका विष्टले विभिन्न सामाजिक संघसंस्थामा आवद्ध भएर पनि काम गरिसकेका छन् । मानव अधिकार संरक्षण मञ्चको जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य, गैर सरकारी संस्था महासंघको प्रदेश अध्यक्ष केन्द्रीय सदस्य र सुदूरपश्चिम इन्चार्ज, नागरिक आन्दोलनको जिल्ला संयोजक, सामुदायिक क्याम्पस संघको केन्द्रीय सदस्य महाकाली इन्चार्ज, बैजनाथ माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष, सिद्धनाथ बहुमुखी क्याम्पस व्यवस्थापन समिति अध्यक्ष भइसकेका विष्टले दर्जनौँ संघसंस्थामा काम गरेका छन् ।
भारत, चिन, दक्षिण कोरिया, मलेसिया, इन्डोनेसिया, साउथ अफ्रिकासहितका दर्जन बढि देशको भ्रमण गरेका उनै विष्ट अहिले कञ्चनपुर क्षेत्र नम्बर ३ को प्रदेशसभा (२) बाट उम्मेदवार छन् । उनी संघीयताको संस्थागत विकासका लागि आफ्नो उम्मेदवारी भएको बताउँछन् । ‘जनआन्दोलनका बेला हामीले एकात्मक शासन व्यवस्था नभइ मुलुकको विकासका लागि संघीयता चाहिन्छ भन्यौँ, त्यहीअनुसार संघीयता कार्यान्वयनमा आएको छ,’ विष्टले प्रेसपत्रसँग भने, ‘तर विभिन्न कारणले प्रदेश संरचनाप्रती मानिसहरुमा निराशा पैदा भएको छ । प्रदेशलाई पूर्ण रुपले विश्वास र भरोसायोग्य बनाउन तथा संस्थागत विकास गर्न मेरो उम्मेदवारी हो ।’
स्थानीय सरकारपछि जनताको सबैभन्दा नजिकको प्रदेश सरकार नै भएकाले यसलाई विश्वसनीय बनाउन प्रमुख आवश्यकता भएको उनको भनाइ छ । प्राकृतिक स्रोत साधनको सम्पन्नताले धनी प्रदेश सुदूरपश्चिम भएकाले लगानी मैत्री कानून बनाउने पहिलो प्राथमिकता हुने उनले बताए ।
सुदूरपश्चिमको २५ वर्षे विकासको खाका बनाउने योजना रहेको पनि विष्ट सुनाउँछन् । विष्ट आफूलाई सत्तारुढ गठबन्धनले कुनै फरक नपार्ने र जित सुनिश्चित भइसेको दाबी गर्छन् । विगतमा भीमदत्त नगरपालिकाको मेयर हुँदा थालनी गरेका काम नै जित्ने प्रमुख आधार भएको उनको भनाई छ ।

