
धनगढी । कञ्चनपुरको बेलडाँडी गाउँपालिका–३ वैवाहमा चोरी गर्दागर्दै स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका दुई भारतीय नागरिक छुटेका छन् ।
वैवाहका अटोरिया चौधरीको पसलमा चोरी गरिरहेको अवस्थामा स्थानीयले देखेपछि भारतको पिलिभित बस्ने २४ वर्षीय राज सिंह र २६ वर्षीय बुटा सिंह आइतबार मध्यरातमा नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए ।
पसलको ताला फुटाउँदै गरेको दृश्य सीसीटीभीमा देखिएपछि चौधरीले स्थानीयलाई खबर गरेका थिए । त्यसपछि राति करिब १२ बजे स्थानीयले घेरा हालेर उनीहरूलाई नियन्त्रणमा लिएका थिए ।
बेलडाँडी गाउँपालिका–३ का वडाध्यक्ष दुर्गा चौधरीकाअनुसार एक जना भाग्दै गरेको अवस्थामा र अर्का स्थानीयको गोठमा लुकेको अवस्थामा भेटिएका थिए । स्थानीयले दुवैलाई नियन्त्रणमा लिएर बाँधेर राखेका थिए । सो क्रममा स्थानीयले उनीहरूमाथि कुटपिटसमेत गरेको बताइएको छ ।
घटनाको खबर पाएपछि प्रहरी घटनास्थलमा पुगेको थियो । स्थानीयको नियन्त्रणमा रहेका दुवै जनालाई प्रहरीले पक्राउ गरी इलाका प्रहरी कार्यालय बेलडाँडी लगेको थियो ।
तर, सोमबार दिउँसो दुवै देशका जनप्रतिनिधि तथा स्थानीयको रोहबरमा छलफल भएपछि उनीहरूलाई छाडिएको प्रहरीले जनाएको छ । चोरी वा अन्य अपराधमा संलग्न भएको पुष्टि हुने आधार नभेटिएपछि दुवै पक्षका जनप्रतिनिधि र स्थानीयको सहमतिमा उनीहरूलाई छाडिएको प्रहरीले जनाएको हो ।
प्रहरीले उनीहरु आपसमा मिलेर आएपछि जाहेरी समेत नपरेकाले मुद्दा चलाउन नपरेको जनाएको छ ।

