
काठमाण्डौँ । बेलायतकी ३५ वर्षीया लुसी थोमसलाई नक्कली नङ अर्थात् एक्रिलिक नङ लगाउने बानी थियो। करिब दुई वर्षअघि उनले एक्रिलिक नङ हटाएपछि आफ्नो बूढी औँलाको नङमा कालो रेखा देखिन्।
सुरुमा उनले नङमा चोट लागेको होला भनेर खासै ध्यान दिइनन्। तर साथीले डाक्टरलाई देखाउन सुझाव दिएपछि उनी जाँचका लागि गइन्। जाँचपछि डाक्टरहरूले नङमुनि हुने दुर्लभ प्रकारको छालाको क्यान्सर हुन सक्ने आशंका गरे। थप परीक्षण गर्दा नङमुनि क्यान्सर बन्नुअघि देखिने असामान्य कोषहरू भेटिए, जसलाई हटाउन उपचार गर्नुपर्यो।
लुसीले आफ्नो अनुभव सुनाउँदै नक्कली नङ लगाउने मानिसहरूलाई नङमा देखिने असामान्य परिवर्तनलाई बेवास्ता नगर्न आग्रह गरेकी छन्। नङमा अचानक कालो वा खैरो धर्सा देखिनु, रंग परिवर्तन हुनु, नङको आकार बदलिनु वा लामो समयसम्म असामान्य देखिनु जस्ता समस्या देखिएमा आफैं अनुमान नगरी स्वास्थ्यकर्मीलाई देखाउनु राम्रो हुन्छ।
त्यसैगरी, नङ सजाउन प्रयोग हुने युभी बत्तीबाट हुने बारम्बारको सम्पर्कले पनि हातको छालामा असर पार्न सक्छ। त्यसैले सुन्दर देखिने मात्र होइन, आफ्नो स्वास्थ्यको पनि ख्याल राखौँ। नङमा देखिएको सानो परिवर्तनलाई पनि बेवास्ता नगर्नुहोस्।

