कैलालीमा श्रीमती र छोरा छाडेका निलम्बित प्रहरी प्रेमिकासहित कारागार चलान

cp new add
Nisharg hospital

धनगढी । श्रीमती हुँदाहुँदै अर्की महिलासँग प्रेम सम्बन्धमा रहेको आरोपमा बहुविवाह मुद्दा खेपिरहेका निलम्बीत प्रहरी सहायक हवल्दार देवबहादुर मौनी र उनकी प्रेमिका इन्द्रादेवी बोहरा पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

कैलाली जिल्ला अदालतका न्यायाधीश इन्द्रबहादुर कठायतको इजलासले मौनी र बोहरालाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो ।

इलाका प्रहरी कार्यालय मालाखेतीमा कार्यरत रहेका मौनीविरुद्ध उनकी श्रीमतीले बहुविवाहसम्बन्धी जाहेरी दिएपछि प्रहरीले मौनी र बोहरालाई पक्राउ गरेको थियो । अदालतको आदेशपछि दुवैलाई पुर्पक्षका लागि कारागार पठाइएको हो ।

यसअघि मौनी श्रीमती र दुई छोरालाई छाडेर लामो समयदेखि सम्पर्कविहीन भएपछि घटना बाहिर आएको थियो । उनी गत माघदेखि सम्पर्कविहीन भएको र बोहरासँग प्रेम सम्बन्धकै विषयमा श्रीमतीसँग विवाद भएपछि घरबाट अलग भएको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

मौनीको खोजी गर्ने क्रममा उनी भारतको बैङ्लोरमा रहेको खुलेको थियो । त्यसपछि उनी आफैं इलाका प्रहरी कार्यालय मालाखेतीमा उपस्थित भएका थिए । प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएपछि उनकी श्रीमतीले बहुविवाहसम्बन्धी जाहेरी दिएको थियो ।

प्रारम्भिक विवरणअनुसार मौनीकी श्रीमतीसँग २७ महिना र ९ वर्षका दुई छोरा छन् । श्रीमती र दुई छोरालाई छाडेर लामो समय सम्पर्कविहीन भएपछि उनले बहुविवाहको कसुरमा जाहेरी दिएकी थिइन् । बोहराका आफ्नै छोराछोरीसमेत रहेको बताइएको छ । यस घटनाले दुवै परिवारमा पारिवारिक विवाद सिर्जना भएको थियो ।

मौनी र बोहरालाई प्रहरीले गत साउनमा नियन्त्रणमा लिएर बहुविवाहसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको थियो । त्यसबेला प्रहरीले उनीहरूमाथि आवश्यक अनुसन्धान भइरहेको जनाएको थियो ।

Navjeen New Ad
Loading...