दार्चुलाका प्रधानाध्यापक धामीको मृत्यु प्रकरण : उच्च अदालतले उल्ट्यायाे जिल्लाकाे फैसला, थुनामा रहेका ८ जनालाई धरौटीमा छाड्न आदेश


दार्चुलामा प्रधानाध्यापक मृत्यु प्रकरणमा पुर्पक्षका लागि कारागार चलान भएका आरोपीतलाई छाड्न आदेश दिइएको छ ।
ब्यास गाउँपालिका–४ को सम्पाल माध्यमिक विद्यालयका प्रधानाध्यापक बलदेवसिंह धामीको मृत्यु प्रकरणमा पुर्पक्षका लागि कारागार चलान भएका आठ जनालाई धरौटीमा छोड्न आदेश दिइएको हो ।
उच्च अदालत दीपायल महेन्द्रनगर इजलासले पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालतको आदेश बदर गर्दै आठ जनालाई धरौटीमा छोड्न आदेश दिएको हो । न्यायाधिश मातृकाप्रसाद भण्डारी र गिरिराज गौतमको संयुक्त इजलाशले उनीहरुलाई जनही एकदेखि दुई लाखसम्म धरौटी लिएर थुनामुक्त गर्न आदेश दिएको छ ।
उच्चले आत्माहत्या दुरुत्साहन मुद्दाका प्रतिवादी परमानन्द भट्ट र दलिदत्त भट्टलाई जनही दुई लाख रुपैयाँ धरौटीमा छाड्न भनेको छ ।
यस्तै, प्रतिवादी खिमानन्द भट्ट, हरिदत्त भट्ट, पुष्कररराज भट्ट र पदमराज भट्टलाई जनही एक लाख ५० हजार रुपैयाँ, नरेन्द्रदत्त भट्ट र विक्रमसिंह कुँवरलाई जनही एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिइएको छ ।
अदालतको आदेशमा प्रतिवादीहरूबाट नगद धरौटी, बैँक ग्यारेन्टी वा जेथा जमानत दिएर तारेखमा छाड्न उल्लेख छ भने तोकिएको धरौटी दिन नसके कानुनबमोजिम गर्न समेत आदेशमा दिइएको छ ।
अदालतको आदेश औपचारिक रुपमा जिल्ला कारागार दार्चुलासम्म पुगेको छैन् । शुक्रबार फैसला भएकोले औपचारिक पत्र आउन केही ढिलाई भएको हुनसक्ने कारागारले जनाएको छ ।
अदालतको पत्र आएपछि थुनामा रहेकाहरुलाई छाड्ने प्रक्रिया अघि बढाइने जिल्ला कारागारका जेलर उमेश सिंह बिष्टले जानकारी दिएका छन् ।
ब्यास गाउँपालिका– ४ को सुन्सेराको सम्पाल माध्यमिक विद्यालयका प्रधानाध्यापक बलदेवसिंह धामी गत बैशाखमा विद्यालयमै झुन्डिएको अवस्थामा मृत फेलाल परेका थिए । मृत्युअघि धामीले आफ्नो फेसबुक वालमा अहिले मुद्दा खेपिरहेका आठै जनाको नामै किटान गरि आत्माहत्या गर्न बाध्य पारेको दाबीसहितको स्टाटस लेखेका थिए ।
सोही आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरि आत्माहत्या दुरुत्साहन मुद्दामा अनुसन्धान गरेको थियो । घटनाअघि विद्यालयमा अध्ययरत बालिकामाथि जबरजस्तीकरणी गरेको आरोपमा एक शिक्षक समेत पक्राउ परेका थिए ।
सोही घटनामा आफूलाई समेत बलात्कार मुद्दामा फसाउने षड्यन्त्र भएको मृतक धामीको दाबी थियो
