कैलालीका तीन स्थानीय तहमा जेईविरुद्ध खोप अभियान, १ लाख ८२ हजारलाई खोप लगाइने

cp new add
Nisharg hospital

कैलालीका तीन स्थानीय तहमा जापानिज इन्सेफ्लाइटिस (जेई) विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । संक्रमण बढ्दै गएपछि असोज १ गतेदेखि अभियान सञ्चालन गर्न लागिएको हो ।

स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवरका अनुसार घोडाघोडी र लम्कीचुहा नगरपालिकामा असोज १ देखि ७ गतेसम्म तथा धनगढी उपमहानगरपालिकामा असोज ८ देखि २२ गतेसम्म खोप अभियान सञ्चालन हुनेछ ।

अभियानमा ३० वर्ष वा सोभन्दा माथिका १ लाख ८२ हजार ३१३ जनालाई खोप लगाउने लक्ष्य राखिएको छ । धनगढीमा १ लाख २ हजार ४९९, घोडाघोडीमा ३९ हजार ५९ र लम्कीचुहामा ४० हजार ७५५ जनालाई खोप लगाइनेछ । अभियानका लागि १ लाख ९१ हजार ४२९ डोज खोप आउने क्रममा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

कुँवरका अनुसार सन् २०२६ को सुरुवातयता घोडाघोडीमा जेई संक्रमणबाट दुई जनाको मृत्यु भएको छ भने धनगढी र लम्कीचुहामा तीन/तीन जना संक्रमित भएका छन् ।

जेई लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो, जसले मुख्यतः मस्तिष्कमा असर गर्छ । यसबाट जोगिन लामखुट्टे नियन्त्रण, सरसफाइ, घरमा झ्यालढोकामा जालीको प्रयोग र पानी जम्न नदिन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...