साइबर सुरक्षा परीक्षणकै क्रममा जेमिनाईले तीन कम्पनीको प्रणालीमा पहुँच बनायो

cp new add
Nisharg hospital

काठमाडौं । गुगलको एआई मोडल जेमिनाईले साइबर सुरक्षा क्षमताको परीक्षणका क्रममा इन्टरनेटमा पहुँच बनाएर तीनवटा कम्पनीका वेबसाइट तथा सुरक्षित प्रणालीमा प्रवेश गरेको पाइएको छ।

यो घटना मे महिनामा साइबर सुरक्षा मूल्याङ्कन गर्ने स्वतन्त्र कम्पनी ‘इर्रेगुलर’ले गरेको परीक्षणका क्रममा भएको हो। परीक्षणका क्रममा जेमिनाईले अनलाइनमा सार्वजनिक जानकारी फेला पारेपछि परीक्षणको दायराभित्र परेको ठानेर तीनवटा वेबसाइटमा पहुँच बनाउन क्रिडेन्सियल अनुमान गरेको गुगलकी सेक्युरिटी इन्जिनियरिङ उपाध्यक्ष हेदर एडकिन्सले बताएकी छन्।

एडकिन्सका अनुसार तीनवटै निकायलाई घटनाबारे जानकारी गराइएको थियो र परीक्षण प्रक्रियामा आवश्यक परिवर्तन गर्न तालिम साझेदारसँग काम गरिएको थियो। उनका अनुसार यी घटनाले शक्तिशाली एआई मोडललाई जिम्मेवार रूपमा काम गर्न तालिम दिनुपर्ने महत्त्व देखाएको छ।

इर्रेगुलरका प्रवक्ताले यस्तै समस्या अन्य एआई ल्याबसँग पनि देखिएको बताएका छन्। उनका अनुसार जुलाईको अन्त्यतिर सबै सम्बन्धित ल्याबलाई जानकारी गराइएको थियो र इर्रेगुलरको तर्फबाट देखिएका सबै ज्ञात समस्या समाधान भइसकेका छन्।

इर्रेगुलरसँग सम्बन्धित यस्तै घटनाबारे मेटा, एन्थ्रोपिक र ओपनएआईले पनि सार्वजनिक गरेका थिए। मेटाले अगस्टमा सार्वजनिक गरेको विवरणमा उक्त घटनामा स्यान्डबक्स स्केप वा परिष्कृत साइबर आक्रमण समावेश नभएको जनाएको थियो।

जेमिनाईले केही अवस्थामा भित्री प्रणालीमा पहुँच नपाएसम्म पासवर्ड अनुमान गरेको र अन्य दुई अवस्थामा सार्वजनिक भण्डारमा भेटिएका क्रिडेन्सियल प्रयोग गरेर सुरक्षित प्रणालीमा पहुँच बनाएको बताइएको छ। ‘द वाल स्ट्रिट जर्नल’ले शुक्रबार पहिलोपटक यसबारे समाचार प्रकाशित गरेको थियो।

एडकिन्सका अनुसार तीनवटै अवस्थामा जेमिनाईले आफैं ह्याकिङ गतिविधि रोकेको थियो। एआई एजेन्टले उच्च स्वायत्तताका साथ इन्टरनेट तथा कम्प्युटर प्रणालीमा पहुँच पाउँदै गएसँगै यस्ता प्रणालीको सुरक्षा र नियन्त्रणका उपायबारे थप प्रश्न उठिरहेका छन्।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...