मनास्लु आरोहण जोखिमपूर्ण बन्दै, हिमपहिरोमा थप दुईको मृत्यु

cp new add
Nisharg hospital

 मनास्लु हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी दुई आरोहीको मृत्यु भएको छ। मृत्यु हुनेमा भारतीय–जर्मन आरोही ध्रुवज्योति गुहा र उनका आरोहण सहयोगी फुर्सेम्बा शेर्पा रहेका छन्।

शनिबार मनास्लु हिमालको तेस्रो शिविर पुगेका उनीहरू राति टेन्टभित्र सुतिरहेका बेला अचानक हिमपहिरो खसेर पुरिएका हुन्। घटनाका बेला मनास्लु क्षेत्रमा मौसम अचानक बिग्रिएको र ठूलो वर्षासमेत भएको स्थानीयले बताएका छन्।

मौसम प्रतिकूल भएपछि जोखिम बढेसँगै अधिकांश आरोही तेस्रो शिविरबाट दोस्रो शिविरतर्फ झरेका थिए। तर गुहा र शेर्पा भने तेस्रो शिविरमै बसेका थिए। उनीहरू बसेको टेन्ट नै हिमपहिरोले पुरेपछि दुवैको मृत्यु भएको बताइएको छ। मकालु एडभेन्चरमार्फत आरोहणमा गएका उनीहरूको शव उद्धार गरी सोमबार काठमाडौं ल्याउने तयारी गरिएको छ। प्रतिकूल मौसमका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको बताइएको छ।

केही दिनअघि मात्रै मनास्लु आरोहणका क्रममा सिंगापुरका ५० वर्षीय आरोही ल उई सेङ र २० वर्षीय आरोहण सहयोगी तासी शेर्पाको पनि मृत्यु भएको थियो। सेङको दोस्रो शिविरबाट तल झर्ने क्रममा मृत्यु भएको थियो भने तासी शेर्पा टेन्टभित्र मृत भेटिएका थिए।

पछिल्ला दुई घटनासँगै यस सिजन मनास्लु आरोहणका क्रममा मृत्यु हुनेको संख्या चार पुगेको छ। यस वर्ष मनास्लु आरोहणका लागि ४८० जना विदेशी आरोहीले अनुमति लिएका छन्।

लगातारको खराब मौसम र हिमपहिरोका घटनाले मनास्लु क्षेत्रमा आरोहीको सुरक्षा थप चुनौतीपूर्ण बनेको छ। अचानक मौसम परिवर्तन, हिमपहिरो र उच्च हिमाली क्षेत्रमा देखिने अन्य जोखिमका कारण मनास्लु आरोहणलाई चुनौतीपूर्ण मानिन्छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...