स्वास्थ्य सचिवको जिम्मेवारी खोसियो, निवर्तमान मन्त्रीमाथि पनि छानबिन

cp new add
Nisharg hospital

अस्पतालको बेड संख्या बढाउने अनुमति दिने क्रममा घुस बार्गेनिङ गरेको आरोप लागेपछि गण्डकी प्रदेश सरकारले स्वास्थ्य सचिव डा. युवानिधि बसौलाको जिम्मेवारी खोसेको छ । निवर्तमान स्वास्थ्यमन्त्री लक्ष्मणबहादुर पाण्डेसहित उनीमाथि छानबिन अघि बढाइएको हो ।

पोखराको पद्म नर्सिङ होमलाई ५० बाट १०० बेडमा स्तरोन्नति गर्ने अनुमति दिने क्रममा तत्कालीन मन्त्री पाण्डे, उनको सचिवालय र मन्त्रालयका सचिवले रकमको सौदाबाजी गरेको आरोप सार्वजनिक भएको थियो । पत्रकार अपिल त्रिपाठीले ‘गण्डकी छड्के’ युट्युबमार्फत ३० लाख रुपैयाँ घुस डिल भएको दाबी सार्वजनिक गरेका थिए । पाण्डेले घुस लिएको आरोप अस्वीकार गरेका छन् ।

सरकारका प्रवक्ता तथा अर्थमन्त्री जीतबहादुर शेरचनका अनुसार सचिव बसौलालाई अर्को व्यवस्था नभएसम्म मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काजमा खटाइएको छ ।

घटनाबारे छानबिन गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिवको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ । समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ । साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयमा समेत पत्राचार गर्ने निर्णय भएको छ ।

छानबिन टुंगो नलागेसम्म पद्म नर्सिङ होमलाई दिइएको अस्पताल स्तरोन्नतिको अनुमति कार्यान्वयन नगर्ने वा स्थगित गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।

यसैबीच नेकपा एमाले गण्डकी प्रदेश सभा संसदीय दलले पनि निवर्तमान मन्त्री पाण्डे जोडिएको प्रकरण छानबिन गर्न छुट्टै समिति गठन गरेको छ । प्रमुख सचेतक देवका पहारी त्रिपाठीको संयोजकत्वमा गठित समितिलाई पनि १५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...