
सुर्खेत । नेपाली कांग्रेसको १५औँ वडा अधिवेशनबाट सुर्खेतको सिम्ता गाउँपालिका–८, डाँडाखालीका कमल परियार १८ वर्षको उमेरमै युवा तर्फबाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन्।
साधारण कृषक परिवारमा जन्मिएका परियार विद्यार्थी जीवनदेखि नै सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएका छन्। उनले प्रारम्भिक राजनीतिक यात्रा बाल कांग्रेसबाट सुरु गरेका थिए। कक्षा ९ मा अध्ययनरत रहँदा उनी नेपाल विद्यार्थी संघ (नेविसंघ) को इकाई सभापतिको जिम्मेवारीमा पुगेका थिए।
बाल्यकालदेखि नै सामाजिक गतिविधिमा सक्रिय परियार सिम्ता गाउँपालिका स्तरीय बाल क्लबको अध्यक्षसमेत बनेका थिए। त्यसक्रममा उनले बाल अधिकार, बाल सहभागिता तथा सामाजिक सचेतनाका क्षेत्रमा काम गरे ।
नेपाली कांग्रेसको संगठन विस्तारमा समेत परियार सक्रिय रहँदै आएका छन्। विशेषगरी सामाजिक सञ्जाल तथा डिजिटल प्रविधिको प्रयोगमार्फत पार्टीको गतिविधि र विचारलाई नयाँ पुस्तासम्म पुर्याउने अभियानमा उनी संलग्न छन्। युवा पुस्तालाई पार्टी संगठनसँग जोड्ने गतिविधिमा समेत उनको सहभागिता रहँदै आएको छ।
परियार दलित समुदायका अधिकार, समान अवसर, समावेशी प्रतिनिधित्व तथा जातीय विभेदविरुद्धका सामाजिक अभियानमा समेत सक्रिय छन्।
कम उमेरमै नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएपछि परियारले आफूलाई पार्टी संगठन र सामाजिक अभियानमा थप सक्रिय बनाउने बताएका छन्।

