
काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा बसमा आगलागी हुँदा चालक अर्जुन दोङको मृत्यु भएपछि कीर्तिपुरस्थित बर्न अस्पतालबाहिर प्रदर्शन भएको छ ।
मृतक दोङका परिवार र स्वतन्त्र चालक संघ नेपालले मंगलबार अस्पतालबाहिर प्रदर्शन गर्दै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन् । प्रदर्शनमा अर्जुनका दुई श्रीमतीले श्रीमान्को मृत्युको घटनामा संलग्नलाई कारबाही गर्न माग गरे । उनीहरूले ‘बुढालाई न्याय चाहियो, अरू केही चाहिएको छैन’ भन्दै न्यायको माग गरेका छन् ।
स्वतन्त्र चालक संघले चालकहरूमाथि हुने ज्यादती र बेथिति अन्त्य गर्नुपर्ने, मृतक चालकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने तथा चालक आयोग गठन गरी घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने माग गरेको छ ।
संघका अध्यक्ष धनबहादुर श्रेष्ठले चालकलाई मार्न पाइँदैन भन्दै दोषीमाथि कारबाही हुनुपर्ने बताए । प्रदर्शनकारीहरूले ‘चालकमाथि हुने अत्याचार बन्द गर’, ‘चालक मार्न पाइँदैन’ र ‘चालकलाई न्याय दे’ लगायतका नारा लगाएका थिए ।

सोमबार त्रिपुरेश्वरमा बसमा आगलागी हुँदा मकवानपुरका अर्जुन दोङ घाइते भएका थिए । उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा गएराति मृत्यु भएको हो ।

