
धनगढी । कैलालीको चुरे गाउँपालिका–१ निगालीमा पास्नीको भोजमा भएको विवादले ज्यान लिएको खुलेको छ। स्थानीय ५२ वर्षीय यज्ञबहादुर बोहराको कुटपिटबाट मृत्यु भएपछि घटना लुकाउन शव भीरमा फालिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
५ असोजमा नातेदार धनबहादुर बोहराको नातीको पास्नीमा सहभागी भएका यज्ञबहादुर त्यसपछि बेपत्ता भएका थिए। खोजीका क्रममा उनको शव स्थानीय तुलिखेत जंगलको भीरमा फेला परेको थियो।
घटनापछि इलाका प्रहरी कार्यालय मालाखेतीले पास्नीमा उनीसँगै मदिरा सेवन गरेका आठ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पास्नी भएको घरका मूली धनबहादुर बोहरासहित मानबहादुर बोहरा, गोविन्द बोहरा, यज्ञबहादुर बोहरा, दिलिप धामी, रामबहादुर बोहरा, गम्भीर बोहरा र तिलक जेठारा छन्।
मृतकका छोराले दिएको जाहेरीका आधारमा आठै जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डीएसपी हिरा सिंह महराले बताए।
प्रहरी स्रोतका अनुसार पास्नीमा मदिरा सेवन गर्ने क्रममा यज्ञबहादुर र मानबहादुरबीच विवाद भएको थियो। अघिल्लो दिन आफ्नी श्रीमतीलाई गाली गरेको विषयमा सुरु भएको विवाद कुटपिटमा परिणत हुँदा यज्ञबहादुर भुइँमा ढलेर अचेत भएका थिए।
कुटपिटपछि अचेत अवस्थामा रहेका यज्ञबहादुरको भिडियोसमेत सार्वजनिक भएको छ। भिडियोमा एक व्यक्तिले ‘मरेपछि म जेल जाने हुँ’ भनेको र अर्का व्यक्तिले ‘तपाईंले गलत गर्नुभयो’ भनेको सुनिन्छ।
अनुसन्धानमा संलग्न प्रहरीका अनुसार कुटपिटबाटै सोही राति यज्ञबहादुरको मृत्यु भएको थियो। तर घटना लुकाउन उनलाई भीरबाट लडेको देखाउने उद्देश्यले शव बोकेर भीरतर्फ लगेर फालिएको खुलेको छ। पक्राउ परेकामध्ये केहीले प्रहरीसमक्ष घटनास्थलमै मृत्यु भएको र फस्ने डरले शव भीरमा फालेको बयान दिएको प्रहरी स्रोतको भनाइ छ।
प्रारम्भमा दुई जनाबीच विवाद र कुटपिट भए पनि शव भीरमा फाल्ने कार्यमा अन्य व्यक्तिको समेत संलग्नता वा योजना थियो कि थिएन भन्नेबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
डीएसपी महराले घटना अनुसन्धानकै क्रममा रहेकाले अनुसन्धानको विस्तृत पाटोबारे अहिले प्रतिक्रिया दिन नमिल्ने बताए। उनका अनुसार घटनालाई विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ।

