
बिर्तामोड । झापाको बाह्रदशी गाउँपालकिामा बसले ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गएको छ भने अर्का युवा गम्भीर घाइते भएका छन् ।
सोमवार बिहान १०ः४५ बजेतिर बाह्रदशी गाउँपालिका भागडुब्बाथित हिमाली राजमार्गमा भागडुब्बाबाट राजगढतर्फ जाँदै गरेको प्र.१–०१–००१ ख ३५२४ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको प्र.१–०१–०१४ प ११९६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
ठक्करबाट मोटरसाइकल चालक बाह्रदशी गाउँपालकिा–४ का १८ वर्षीय करण राजवंशी र मोटरसाइकलमा पछाडि सवार सोही स्थानका १९ वर्षीय अजय राजवंशी गम्भीर घाइते भएका थिए ।
घटनालगत्तै दुवै घाइतेलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएकोमा उपचारका क्रममा मोटरसाइकल चालक करणको दिउसो १२ः१० बजेतिर मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । अजयको भने उपचार भइरहेको प्रहरीको भनाइ छ ।
दुर्घटनापछि बस र चालक बाह्रदशी वडा नं. १ सालघारी बस्ने ४१ वर्षीय धनबहादुर खड्कालाई जिल्ला प्रहरी कार्यालय झापाले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइहेको प्रहरीको भनाइ छ ।

