
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद निशा डाँगीले बन्द उद्योग सञ्चालनमा ल्याउनेसँगै खुलेका उद्योग टिकाउने नीति बनाउन सरकारलाई आग्रह गरेकी छन्।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै डाँगीले विराटनगर जुटमिल पुनः सञ्चालन गर्ने सरकारको पहल सकारात्मक रहेको बताइन्।
उनले सञ्चालनमा रहेका जुट उद्योगलाई कसरी टिकाइराख्ने भन्ने विषयमा पनि सरकारले ध्यान दिनुपर्ने बताइन्। नेपाली जुट उद्योगको संरक्षणका लागि भारतसँग आवश्यक कूटनीतिक पहल गर्नुपर्ने उनको भनाइ छ।
“सरकारले बन्द रहेका उद्योग खोल्ने नीति मात्रै होइन, खुलेका उद्योग टिकाउने नीतिबारे पनि काम गरोस्,” डाँगीले भनिन्।

