
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशनको उद्घाटनसत्रको अध्यक्षता सभापतिले नै गर्ने पार्टीको परम्परा रहेको बताएका छन् ।
पूर्वसभापति शेरबहादुर देउवालाई महाधिवेशनको उद्घाटनसत्रको अध्यक्ष बनाउन कांग्रेस नेता वीरबहादुर बलायरले प्रस्ताव गरिरहेका बेला प्रवक्ता चालिसेले यस्तो बताएका हुन् ।
बलायरले देउवालाई प्रमुख अतिथि मात्र नभई महाधिवेशनको उद्घाटनसत्रको अध्यक्ष बनाउनुपर्ने धारणा राखेका छन् । उनले देउवालाई अध्यक्ष बनाएर सहमतिको वातावरणमा महाधिवेशन अघि बढाउनुपर्ने बताएका हुन् ।
तर, प्रवक्ता चालिसेले देउवालाई १५औँ महाधिवेशनमा प्रमुख अतिथिका रूपमा निमन्त्रणा गरिने स्पष्ट पारे । उनका अनुसार महाधिवेशनको अध्यक्षता भने पार्टी सभापतिले नै गर्ने कांग्रेसको परम्परा छ ।
‘प्रमुख अतिथिको कुरा हामीले भनेको हो । अध्यक्षता सभापतिले नै गर्छन्, पार्टीको परम्पराले मिल्दैन,’ चालिसेले भने, ‘पार्टी सभापतिले नै महाधिवेशनको अध्यक्षता गर्ने हाम्रो परम्परा हो ।’
उनले देउवासहित उनी पक्षमा रहेका नेताहरूलाई महाधिवेशनमा उचित स्थान दिने विषयमा छलफल भइरहेको पनि बताए ।
यसअघि डोटीमा आयोजित पत्रकार सम्मेलनमा नेता बलायरले कांग्रेसभित्र देखिएको विभाजन अन्त्य गर्दै सहमतिमा महाधिवेशन गर्नुपर्ने बताएका थिए । उनले देउवालाई उद्घाटनसत्रको अध्यक्ष बनाएर त्यसपछि कांग्रेस राजनीतिबाट बिदा गर्न सकिने धारणा राखेका थिए ।
कांग्रेसको १५औँ महाधिवेशन असोज १८ गते हुँदैछ । अहिले पार्टीभित्र महाधिवेशनको प्रक्रिया र नेतृत्वको विषयलाई लिएर दुई समूहबीच मतभेद देखिएको छ ।

