रासायनिक मल कारखाना खोल्न चाँडै प्रस्ताव आह्वान गरिने : प्रधानमन्त्री बालेन

cp new add
Nisharg hospital

काठमाडौं । सरकारले नेपालमै रासायनिक मल कारखाना स्थापना गर्न चाँडै प्रस्ताव आह्वान गर्ने तयारी गरेको प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले बताएका छन्।

बुधबार सिंहदरबारमा इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले मल कारखाना स्थापनाका लागि सरकार अघि बढिरहेको जानकारी दिएका हुन्। छलफलमा सहभागी रास्वपा सांसद डा. राम लामाका अनुसार प्रधानमन्त्री शाहले भनेका थिए, ‘मल कारखाना खोल्नका लागि सरकारले चाँडै नै प्रस्ताव आह्वान गर्नेछ।’

मल कारखाना स्थापनासँगै विद्युत् खपत बढाउने आयोजना तथा योजनालाई सरकारले आवश्यक सहुलियत दिने तयारीसमेत गरेको प्रधानमन्त्री शाहले बताएका छन्। वर्तमान सरकारले निजी क्षेत्रसँगको सहकार्यमा नेपालमा रासायनिक मल कारखाना स्थापना गर्ने प्रतिबद्धता यसअघि नै सार्वजनिक गरिसकेको छ। त्यसका लागि नीतिगत, कानुनी तथा भन्सार सुधार गर्ने प्रतिबद्धता पनि सरकारले जनाएको छ।

यसअघि विभिन्न सरकारले बजेटमै मल कारखाना स्थापनाका लागि रकम विनियोजन गरे पनि नेपालमा अहिलेसम्म रासायनिक मल कारखाना स्थापना हुन सकेको छैन। प्रधानमन्त्री शाहले भने मल कारखाना स्थापनालाई आफ्नो सरकारले प्राथमिकतामा राखेको बताएका छन्।

बुधबार मध्याह्न १२ बजेदेखि दिउँसो सवा २ बजेसम्म भएको छलफलमा १७ जना सांसद सहभागी थिए। सुरुवातमा सांसदहरूले बाढी–पहिरोपछि उत्पन्न अवस्थाबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए। त्यसपछि प्रधानमन्त्री शाहले संसदमा उठ्ने विषय, सांसदको भूमिका तथा सरकारसँग गर्न सकिने समन्वयबारे धारणा राख्दै औद्योगिकीकरणका लागि सरकारले चाल्नुपर्ने कदमबारे ठोस सुझाव दिन सांसदहरूलाई आग्रह गरेका थिए।

नयाँ योजना वा नीतिसम्बन्धी सुझाव भए प्रधानमन्त्री कार्यालयमा सिधै सम्पर्क गर्न सकिने र प्रस्ताव लिएर आउने सांसद तथा व्यक्तिसँग सहज रूपमा भेट गर्न सकिने आश्वासनसमेत शाहले दिएका थिए।

विद्युत् उत्पादनसँगै त्यसको खपत बढाउने विषयमा पनि सरकारको ध्यान केन्द्रित रहेको उनले बताएका थिए। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री शाह सिभिल तथा स्ट्रक्चरल इन्जिनियरिङ पृष्ठभूमिका हुन्।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...