सुदूरपश्चिम : सरुवा भएका हमाल रमाना नबुुझी बजेट लेख्दै, खटाइएका रिजाल ‘बरन्डा’ मा

cp new add
Nisharg hospital

धनगढी । संघीय सरकारले सरुवा गरेको दुई साता बितिसक्दा पनि सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्रालयका सचिव राजेन्द्रकुमार हमाल रमाना नबुझी बजेट निर्माणमै सक्रिय छन् । सुदूरपश्चिम प्रदेशमा संघीय सरकारले पठाएका सहसचिव बलराम रिजाल भने धनगढी आएर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हाजिर गरे पनि जिम्मेवारीविहीन अवस्थामा बसेका छन् ।

मन्त्रिपरिषद्को भदौ ३१ गतेको निर्णयअनुसार भूमि व्यवस्था, सहकारी, सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव हमाललाई राष्ट्रिय महिला आयोग (काठमाडौं) को सचिव पदमा सरुवा गरेको थियो। तर, सरुवा भएको लामो समय बित्दासमेत उनले रमाना बुझेका छैनन्।

यसैबीच, संघीय सरकारले पूर्वाधार विकास मन्त्रालयका सहसचिव बलराम रिजाललाई प्रदेश सचिवका रूपमा सुदूरपश्चिम खटाएको छ। भदौ २५ गतेको मन्त्रिपरिषद् बैठक तथा भदौ ३१ गते सामान्य प्रशासन मन्त्रालयले जारी गरेको पत्रअनुसार रिजाल सोमबार धनगढी पुगेका थिए । उनले मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हाजिर गरे पनि अहिलेसम्म कुनै मन्त्रालयको जिम्मेवारी तोकिएको छैन।

‘सरुवा भएर आइयो, तर जिम्मेवारी तोकिएको छैन। मंगलबारबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हाजिर भएको छु,’ रिजालले भने।

अर्थ र राजस्व प्रशासनका अनुभवी रिजालले यसअघि संघीय अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभाग तथा लगानी बोर्डको सहसचिव एवं प्रवक्ताका रूपमा काम गरिसकेका छन्।

सत्तापक्षभित्रै असन्तुष्टि

बजेट निर्माणको चटारोका बेला नयाँ आएका सचिवलाई जिम्मेवारी नदिई सरुवा भइसकेका हमाललाई नै बजेट लेखनमा सक्रिय गराइएपछि सत्ता गठबन्धनभित्रै विवाद चुलिएको छ। पूर्वअर्थमन्त्री एवं सार्वजनिक लेखा समितिका सभापति अक्कल रावल सरुवा भइसकेका कर्मचारीले बजेट बनाउनु गलत भएको बताउँछन्।

‘सरुवा भइसकेपछि पनि आफैँ बजेट बनाउँछु भन्नु प्रशासनिक मर्यादाविपरीत हो, राज्यले खटाएको ठाउँमा जानुपर्छ,’ उनले भने, ‘यस्ता बेथितिले प्रदेश सरकारप्रति जनताको विश्वास थप घट्दै जान्छ।’

गत असार १ गते तत्कालीन सरकारले प्रदेशसभामा प्रस्तुत गरेको बजेट पारित हुन नसकेपछि सुदूरपश्चिम लामो समयदेखि बजेट होलिडेमा छ। भदौभित्रै बजेट ल्याउने दाबी असफल भएपछि सरकारले असोज १५ सम्म ल्याउने भने पनि मन्त्रालयहरूको योजना प्रविष्टि नसकिएकाले बजेट अझै अनिश्चित छ । त्यसमाथि अर्थसचिवको किचलोले प्रक्रिया झन् अन्योलमा परेको छ ।

अघिल्लो बजेट विवाद र हमालको भूमिका

गत असारमा बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयले हस्तक्षेप गरेको, सरकारको नीति तथा प्राथमिकताविपरीत बजेट ल्याएको आरोप लागेपछि तत्कालीन सत्ता गठबन्धन भत्किएको थियो । त्यतिबेला पनि सचिव हमालमाथि बजेट प्रक्रियामा गडबडी गरेको आरोप लाग्यो । तत्कालीन समयमा एमालेले हमालको सरुवा माग गरेको थियो । अहिले एमालेकै चक्रबहादुर मल्ल आर्थिक मामिला मन्त्री भए पनि तिनै हमालले बजेट बनाइरहेका छन्।

केन्द्रका केही प्रभावशाली नेता र अघिल्लो सरकारनिकट स्वार्थ समूहले कमिसन फरफारक र योजना व्यवस्थापनका लागि हमाललाई नै सुदूरपश्चिममा रोक्न मुख्यमन्त्री तथा प्रमुख सचिवमाथि दबाब दिइरहेको स्रोतको दाबी छ ।

‘संघीय सरकारले सरुवा गरिसकेपछि पनि जान नमान्नुको पछाडि ठूलो स्वार्थ रहेको हामीलाई लागेको छ,’ एक मन्त्रीले भने ।

संघीय सरकारले खटाएका कर्मचारी प्रदेशमा आएर जिम्मेवारीविहीन बस्नुपर्ने र सरुवा भइसकेका कर्मचारीले मन्त्रालय नछाड्ने प्रशासनिक अराजकताले आगामी बजेट निर्माण प्रक्रिया थप विवादित बन्ने जोखिम बढाएको सरोकारवालाको भननाइ छ ।

नेपाल प्रेसबाट साभार 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...