
काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनलाई केन्द्रित गर्दै असोज २० गतेदेखि देशभरका पालिकामा अभियान सञ्चालन गर्ने भएको छ।
संघीय संसद्को चालु अधिवेशन अन्त्य भएपछि रास्वपाका सांसद तथा केन्द्रीय सदस्यहरू ७७ जिल्लाका ७५३ वटै पालिकामा पुग्ने पार्टीले जनाएको छ।
रास्वपा सहमहामन्त्री निशा डाँगीका अनुसार अभियानका दुई मुख्य उद्देश्य छन्। पहिलो, स्थानीय तहको कामकारबाही तथा आगामी निर्वाचनमा उम्मेदवार छनोटको विधिबारे नागरिकलाई जानकारी गराउने र दोस्रो, वर्तमान सरकार गठनपछि संसद् र सरकारमार्फत भएका काम तथा आगामी योजनाबारे नागरिकलाई जानकारी दिने।
रास्वपाले आगामी स्थानीय तह निर्वाचनका लागि ‘क्यान्डिडेट क्लब’, ‘लिडरसिप एकेडेमी’ र लोकतान्त्रिक छनोट प्रक्रियामार्फत उम्मेदवार छनोट गर्ने बताउँदै आएको छ।
डाँगीले अभियान चुनावी तयारीमा मात्र सीमित नभई स्थानीय सरकारलाई जवाफदेही बनाउने र नागरिकको सहभागितामा नेतृत्व छनोट गर्ने अभ्यासका रूपमा अघि बढाइने बताएकी छन्।

