
विराटनगर । कम्युनिस्ट राजनीतिमा लागेर जीवनको झन्डै आधा समय जेलभित्र बिताएका घनेन्द्र बस्नेतको निधन भएको छ । उनको उपचारका क्रममा भक्तपुर क्यान्सर अस्पतालमा बुधबार साँझ निधन भएको हो ।
पछिल्ला ६–७ महिनादेखि उनी क्यान्सरसँग जुधिरहेका थिए । २००९ असोज २५ गते भोजपुरको कुलुङमा जन्मिएका बस्नेतको राजनीतिक जीवन नेपाली कम्युनिस्ट आन्दोलनको उतारचढावसँगै अघि बढेको थियो । पञ्चायती व्यवस्थाविरुद्धको संघर्षमा सक्रिय रहँदा उनले लामो जेल जीवन बिताए । जेल उनका लागि राजनीतिक जीवनको एउटा अध्याय मात्र थिएन, त्यहीँबाट उनले आफ्नो राजनीतिक प्रतिबद्धतालाई अझ बलियो बनाउँदै लगे ।
‘२०२८स् झापा विद्रोहु पुस्तकमा उल्लेख भएअनुसार बस्नेतले करिब १६ वर्ष तीन महिना जेल जीवन बिताएका थिए । त्यस अवधिमा चार दिनबाहेक उनी लगातार जेलमै रहेको उल्लेख छ ।
लेखक निरोज कट्टेल भन्छन्, ‘बस्नेतको राजनीतिक जीवनमा २०३३ चैत १२ को घटना विशेष महत्त्व राख्छ । झापाका राजनीतिक बन्दीहरूले नख्खु जेल तोडेर बाहिरिने योजना बनाएका थिए । बस्नेत पनि त्यस अभियानमा सहभागी थिए ।’
त्यस दिन १५ जना राजनीतिक बन्दी जेलबाट बाहिरिए । तीमध्ये १० जना भाग्न सफल भए भने पाँच जना विभिन्न ठाउँबाट पुनः पक्राउ परे । बस्नेत जेलबाट निस्किएको चार दिनपछि पथलैयाको जंगलबाट पक्राउ परेका थिए ।

