
काठमाडौँ । नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले सरकारसँग संसद्मा स्पष्ट बहुमत भए पनि शासकीय कौशलता र नतिजामुखी कार्यशैलीको अभाव देखिएको आरोप लगाएका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद आङ्देम्बेले सरकार गठन भएको ६ महिना पूरा हुँदासमेत जनजीवन कठिन बन्दै गएको र सरकार अनुभवी नभई भूलचुकमै रमाइरहेको टिप्पणी गरे । संसद्को बजेट अधिवेशन समापनको संघारमा उभिएर उनले ९ वटा बुँदामा सरकारको ध्यानाकर्षण गराउँदै आत्मसमीक्षा गर्न आग्रह गरे ।
‘हामीले बलियो सरकार खोजेका हौँ, पायौँस तर बलियो सरकार पनि किन कमजोर शासन गरिरहेछरु यो मेरो मनमा साह्रै धेरै उब्जिरहेको प्रश्न पनि हो । बहुमतले सरकार बनाउन सक्ला, तर जनताको विश्वास टिकाउन सक्दैन । त्यसका लागि दृष्टि, संवाद, समन्वय, संस्थागत सम्मान, निर्णय क्षमता र परिणाम चाहिन्छ। संसद्मा प्राप्त संख्याले बजेट पारित गर्न त सक्ला तर रोजगारी सिर्जना गर्न सक्दैन, सरकार टिकाउन त सक्ला तर जनताको आशा टिकाउन सक्दैन,’ उनले भने ।
उनले प्रधानमन्त्रीको कार्यशैली र संसद्प्रतिको उत्तरदायित्वमाथि पनि गम्भीर प्रश्न उठाए । प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा जाँदा र फर्किँदा संसद्लाई कुनै जानकारी नगराइएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । साथै, प्रमुख प्रतिपक्षीले सदनमा प्रश्न उठाउँदा प्रधानमन्त्री अनुपस्थित हुनु संसदीय मर्यादाविपरीत भएको उनको भनाइ थियो ।
उनले भने, ‘संसद् भनेको आफूलाई मन परेको बेला आउन हुने र मन नपरे उठेर जाने कुनै मधुशाला जस्तो होइन । संसद्मा हुने छलफलमा प्रधानमन्त्री उपस्थित हुने, कुरा सुन्ने र आवश्यकता अनुसार जवाफ दिने वैश्विक अभ्यास हो । प्रधानमन्त्री संसद्ले बनाएको हो र यसको पालना नगर्ने छुट उहाँलाई छैन । प्रश्नको सम्मान गर्ने सरकार कहिल्यै कमजोर हुँदैन, बरु प्रश्नबाट भाग्ने शासन कमजोर हुन्छ ।’
अर्थतन्त्रको अवस्था, बढ्दो महँगी र विपद् व्यवस्थापनमा सरकार पूर्ण रूपमा चुकेको आरोप लगाउँदै उनले मध्यरातमा पूर्वप्रधानन्यायाधीशलाई पक्राउ गर्ने र बिनाकारण छोड्ने हर्कतले विधिको शासनको उपहास गरेको बताए । लोकप्रियतावाद र सामाजिक सञ्जालको भरमा नभई परिणाममुखी काम गरेर जनतामा भरोसा जगाउन उनले सरकारलाई सुझाव दिए ।
उनले भने, ‘तपाईंलाई नेपाली जनताले दिएको जनादेश जनतामाथि मनपरी शासन गर्न होइन, जनताको जीवन बदल्न हो। संसद्मा प्राप्त संख्याले ५ वर्ष शासन टिकाउन सकिन्छ, तर शासनको अक्षमताले मुलुकलाई ५ वर्ष पछाडि धकेलिदिन सक्छ। आजको प्रश्न— तपाईंसँग संख्या छ, शक्ति छ, तर के शक्तिलाई परिणाममा बदल्ने तपाईहरूसँग त्यो कौशलता छरु नेपाललाई अब लोकप्रियतावाद होइन, संसद् चाहिएको छस एकाधिकार होइन, सहकार्य चाहिएको छ ।’

