
काठमाडौँ । त्रिपुरेश्वरमा भएको सवारी आगजनीको घटनामा मृत्यु भएका बस चालक अर्जुन दोङका परिवारले न्याय माग्दै सिंहदरबार पुगेका छन्।
अर्जुनकी आमा माइली माया दोङसहित परिवारका सदस्य बुधबार सिंहदरबारको दक्षिण गेट अगाडि पुगेका हुन्। उनीहरूले अर्जुनलाई आगजनीको घटना घटाउन बाध्य पार्नेहरूमाथि कानुनी कारबाही गर्न माग गरेका छन्।
माइली माया दोङले छोराको मृत्युको घटनामा संलग्न दोषीमाथि कडा कानुनी कारबाही गरी छिटो न्याय दिनुपर्ने माग गर्दै निरन्तर धाउनुपरेको बताइन्। उनले छोरालाई अरूको भरमा गाडी नचलाउन र घर फर्किएर नागरिकता बनाउन पटक–पटक आग्रह गरेको बताइन्।
असोज ५ गते रिद्धिसिद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा त्रिपुरेश्वरमा आगलागी भएको थियो। आगलागीपछि दमकलको सहयोगमा आगो नियन्त्रणमा लिए पनि शरीरको ९० प्रतिशतभन्दा बढी भाग जलेका चालक दोङको उपचारका क्रममा मृत्यु भएको थियो।

