मलेसियामा नेपाली कामदारको न्यूनतम तलब बढ्ने तयारी, २ हजार रिंगिट पुग्ने

cp new add
Nisharg hospital

काठमाडौं । मलेसिया सरकारले विदेशी कामदारको न्यूनतम मासिक तलब १ हजार ७ सयबाट बढाएर २ हजार रिंगिट (करिब ७५ हजार रुपैयाँ) पुर्‍याउने विषयमा छलफल अघि बढाएको छ । आगामी अक्टोबर ९ मा सार्वजनिक हुने सन् २०२७ को बजेटमार्फत तलब वृद्धि घोषणा हुन सक्ने ‘मलाय मेल’ले जनाएको छ । यद्यपि, नयाँ तलबदर र कार्यान्वयन मिति औपचारिक रूपमा तय भइसकेको छैन ।

२ हजार रिंगिट लागू भएमा न्यूनतम तलब ३ सय रिंगिट अर्थात् करिब १७.६ प्रतिशत बढ्नेछ । यसबाट मलेसियामा कार्यरत करिब ४ लाख नेपालीसहित न्यूनतम तलब पाउने विदेशी कामदार लाभान्वित हुनेछन् ।

मलेसियाका अर्थमन्त्री अकमल नसरुल्लाह मोहम्मद नासिरका अनुसार अन्तिम निर्णय प्रधानमन्त्री अनवर इब्राहिमले बजेट प्रस्तुत गर्दा गर्नेछन् । तलब बढाउँदा कामदारको हितसँगै साना तथा मझौला उद्योगको सञ्चालन लागतलाई समेत ध्यान दिइनेछ ।

मलेसियाको राष्ट्रिय न्यूनतम तलब नीतिअनुसार विदेशी कामदारले पनि तोकिएको न्यूनतम आधारभूत तलब पाउँछन् । तर, घरेलु कामदार र प्रशिक्षार्थी सम्झौताअन्तर्गतका कामदारले यो सुविधा पाउँदैनन् ।

यसैबीच, ट्रेड युनियन महासंघले न्यूनतम तलब ३ हजार १ सय रिंगिट पुर्‍याउन माग गर्दै आएको छ । रोजगारदाता तथा व्यवसायीहरूले भने ठूलो तलब वृद्धिले उद्योगको सञ्चालन लागत र वस्तु तथा सेवाको मूल्य बढ्न सक्ने चिन्ता व्यक्त गरेका छन् ।

मलेसियामा न्यूनतम तलब सन् २०१३ मा ९ सय रिंगिटबाट सुरु भएको थियो । २०२२ मा १ हजार ५ सय र २०२५ मा १ हजार ७ सय रिंगिट पुर्‍याइएको थियो ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...