
इजरायल । दुबईबाट इजरायलतर्फ उडेको विमानमा आक्रमण भएपछि एक यात्रुले ककपिटमा प्रवेश गरी आक्रमणकारीलाई नियन्त्रणमा लिन आफूले ‘चोकहोल्ड’ प्रयोग गरेको बताएका छन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बुधबार बेन गुरियन विमानस्थलमा ती यात्रुलाई भेटेर उनको साहसको प्रशंसा गरेका छन् ।
नेतान्याहुले सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडियोमा उनले ‘यानिभ’ नामका यात्रुलाई भेटेको देखिन्छ । यात्रुले लगाएको टी–सर्टमा रगतको दाग देखिन्छ । नेतान्याहुले उनलाई ‘नायक’ भन्दै घटनाका क्रममा आफूले कसरी ककपिटमा प्रवेश गरेको र आक्रमणकारीलाई कसरी नियन्त्रणमा लिएको भनेर सोधेका थिए ।
यानिभका अनुसार विमानका एक पाइलटमाथि आक्रमण भएपछि ककपिटको ढोका खोल्न कठिन भएको थियो । उनले भनेका छन्, ‘घाइते भएका पाइलट ढोकाको निकै नजिक थिए, त्यसैले हामीलाई ढोका खोल्न गाह्रो भयो । तर उनी ढल्नुअघि मैले ढोका खोल्न सफल भएँ ।’
क्जष्खबm ऋझभलत
ककपिटभित्र प्रवेश गर्दा उनले एउटा पाइलट तल लडेको र अर्को व्यक्ति विमानका उपकरणमाथि रहेको देखेका थिए । उनका अनुसार ती व्यक्ति विमानका उपकरणहरू बिगारेर विमानलाई नियन्त्रणबाहिर पार्ने प्रयास गरिरहेका थिए ।
‘म ककपिटमा प्रवेश गर्दा आक्रमणकारी दुईवटा सिटको बीचमा रहेका उपकरणमाथि थिए । सिटमा कुनै पाइलट थिएनन् । एक जना तल थिए भने अर्को उपकरणमाथि थिए,’ यानिभले नेतान्याहुलाई बताएका छन् ।
त्यसपछि उनले अर्का एक यात्रुको सहयोगमा आक्रमणकारीलाई समातेको बताए । ‘मैले उसलाई समातेर चोकहोल्डमा राखेँ र सबैभन्दा पहिले बाहिर तानेँ,’ उनले भने । त्यसपछि विमानमा रहेका अन्य इजरायली यात्रुलाई बोलाएर आक्रमणकारीलाई भुइँमा थिचेर सुरक्षित राखिएको उनको भनाइ छ ।
यानिभले आफूले विमानको नियन्त्रणसमेत लिएको बताएका छन् । नेतान्याहुले आश्चर्य व्यक्त गर्दै, ‘तिमीले विमान नियन्त्रण लियौ रु’ भनेर सोधेका थिए । जवाफमा यानिभले आफूले विमानसम्बन्धी दुर्घटनाका टेलिभिजन कार्यक्रम एयरक्र्यास इन्भेस्टिकेसन हेर्ने गरेको बताए ।
उनका अनुसार नियन्त्रण समातेपछि विमान केही समतल अवस्थामा आएको थियो । त्यसपछि पाइलटले विमानको नियन्त्रण आफ्नो हातमा लिएको उनले बताएका छन् ।
भेटका क्रममा नेतान्याहुले यानिभको टी–सर्टमा लागेको रगत देखाउँदै त्यो आक्रमणकारीको रगत हो कि भनेर सोधेका थिए । यानिभले आफूले लगाएको कपडामा रहेको रगत आक्रमणकारीकै भएको पुष्टि गरेका थिए ।
नेतान्याहुले घटनापछि यात्रुहरूलाई भेट्दै यानिभलाई ‘महान् नायक’ भन्दै प्रशंसा गरेका थिए । यानिभले भने घटनाका क्रममा आफूले गरेको कामलाई इजरायली यात्रुहरूको सामूहिक प्रयासका रूपमा प्रस्तुत गर्दै उनीहरूलाई पनि धन्यवाद दिएका थिए ।
यो घटना दुबईबाट इजरायल फर्किरहेको रिप्याट्रिएसन उडानमा भएको थियो । विमानबाट यात्रुहरू बेन गुरियन विमानस्थलमा ओर्लिएपछि नेतान्याहुले उनीहरूसँग भेट गरेका हुन् । घटनाका क्रममा ककपिटमा आक्रमण भएको र एक पाइलट घाइते भएको विवरण सार्वजनिक भएको छ । यद्यपि आक्रमणको उद्देश्य, आक्रमणकारीको पहिचान तथा घटनाको विस्तृत सुरक्षा अनुसन्धानबारे थप आधिकारिक विवरण अझै आउँदैछ ।

