
नवलपरासी । काठमाडौँ जाँदै गरेको बस नवलपरासीको दाउन्नेमा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार कोहलपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बस आज बिहान पौने ४ बजे महेन्द्रराजमार्गअन्तर्गत दाउन्नेमा ब्रेक फेल भएर सडकबाट नालामा पल्टिएको हो ।
दुर्घटनामा एक महिला र तीन पुरुषको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकहरूको पहिचान भने बिहान सवा ६ बजेसम्म खुल्न सकेको छैन ।
दुर्घटनामा घाइते भएका ११ जनालाई उद्धार गरी उपचारका लागि कावासोतीस्थित मध्यबिन्दु अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनाका बेला बसमा १७ जना यात्रु सवार थिए ।

