
धनगढी । कैलालीमा चोरी तस्करी नियन्त्रणमा खटिएका नेपाल प्रहरीमाथि आक्रमण भएको छ ।
बिहीबार दिउँसो भजनी नगरपालिका–३ ठेकीपुरचोकमा भारतबाट मोटरसाइकलमा ल्याइरहेको अवैध सामान नियन्त्रणमा लिन खोज्दा इलाका प्रहरी कार्यालय भजनीमा कार्यरत दुई जना प्रहरीमाथि आक्रमण भएको हो ।
आक्रमणबाट प्रहरी हवल्दार विनयप्रसाद चौधरी र जवान देवराज जोशी घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी )योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।
उनकाअनुसार चौधरीको हात र जोशीको अनुहारमा चोट लागेको छ । उनीहरुको भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । प्रहरीमाथि आक्रमण गर्ने तीन जनालाई भने पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा मुख्य अभियुक्त भनिएका भजनी नगरपालिका–३ पडरियाका लोकबहादुर साउँद, धन्या साउद र गम्भीर साउद रहेको डीएसपी तिमिल्सिनाले बताएका छन् ।
डीएसपी तिमिल्सिनाकाअनुसार उनीहरुले सामान बोक्न प्रयोग गरेको से ४ प ११७१ र सु।प।प्र। ०१–०११ प ६४१ नम्बरका दुई मोटरसाइकल समेत नियन्त्रणमा लिइएको छ ।
भारतबाट अवैध रुपमा ल्याइरहेको सामान भने डिउटीमा खटिएका प्रहरीमाथि आक्रमण गरेर भित्र्याउन उनीहरु सफल भएको प्रहरीले जनाएको छ । आक्रमणमा संलग्न केही व्यक्ति भने फरार रहेकाले खोजी भइरहेको छ ।

