
काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित सेल्फी रोडनजिकै सामुदायिक वनमा बोराभित्र भेटिएको एक महिलाको शवलाई लिएर अनुसन्धान गर्दा डरलाग्दो रहस्य खुलेको छ ।
घटना गत साउन २२ गतेको हो । जंगलमा घाँसदाउरा लिन गएका केही स्थानीयले झिंगा भन्किरहेको बोरा देखे । शंकास्पद देखिएपछि तत्काल प्रहरीलाई खबर गरे । जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोली घटनास्थल पुगेर शवको मुचुल्का उठाउँदा उक्त शव महिलाको हो भन्ने पुष्टि भयो । तर, शवको प्रकृति डरलाग्दो थियो । अनुहार चिन्न सकिने अवस्थामा थिएन ।
धारिलो हतियार प्रहार गरेर क्षतविक्षत बनाइएको थियो । शव महिलाको हो भन्ने पुष्टि भए पनि उनी को हुन् ? भन्ने तथ्य खुलाउन प्रहरीले सूक्ष्म अनुसन्धान गर्दा पनि नखुलेपछि मकवानपुर प्रहरीले शव पहिचानका लागि आफ्नो फेसबूक पेजमा मृतक महिलाको शवको स्केच, मृतकले शरीरमा लगाएको कपडा, खुट्टाको औँलामा लगाएको बिछिया, कानमा लगाएको मुन्द्रा, दुवै हातमा लगाएको रातो–हरियो रङको लहठी (बाला) र नाकको फुलीसहित सार्वजनिक गर्यो ।
अनि एउटा तथ्य बाहिर आयो । मृतक महिला भारतको बेतिया जिल्ला घर भएकी २२ वर्षीया अफ्रिना प्रविन भन्ने रुचि खातुन रहिछिन् । उनी गत वैशाख ९ गतेदेखि नै हराएको भन्दै आफन्तले भारतको बेतिया प्रहरी थानामा खोजतलासका लागि निवेदन दिएका रहेछन् । प्रहरीले सामाजिक सञ्जालमा फोटो राखेपछि महिलाका आफन्त मकवानपुर आए । अनुहारले चिन्न नसकेपछि शरीरका चिन्ह (कोठी, दाग लगायत) ले खातुनलाई उनकी आमाले पहिचान गरिन् । खातुनकी आमाले पहिचान गरेकै भरमा प्रहरीलाई शव जिम्मा लगाउने आधार थिएन । अनि प्रहरीले खातुनको शव र आमाको डीएनए परीक्षण गर्यो । डीएनए ‘म्याच’ गरेपछि प्रहरीले यही भदौ १६ गते खातुनको शव आमा फातमा र उनको परिवारलाई बुझायो ।
अब प्रहरीका लागि अनुसन्धानको अर्को पाटो केलाउनु थियो । खातुनको हत्या कसले र किन गर्यो रु भन्ने तथ्य केलाउन प्रहरी टोली भारतसम्म पुग्यो । यो घटनाको अनुसन्धानका लागि मकवानपुरको हेटौंडास्थित बागमती प्रदेश प्रहरी कार्यालयले डीएसपी सुवास भट्टको नेतृत्वमा अनुसन्धान टोली नै गठन गरेको थियो । बेतिया प्रहरीमा खातुन हराएको निवेदन परेको थियो । खातुनको मोबाइलको कल डिटेल अनुसन्धान गर्दा उनीसँग भारत बेतियाकै २७ वर्षीय राहुल कुमार गुप्ता भन्ने ईश्वर कुमारसँग निरन्तर सम्पर्क रहेको फेला पर्यो । नेपाल प्रहरीको अनुसन्धानको ‘लिड’ अनुसार भारतीय प्रहरीले कुमारलाई पक्राउ गर्यो ।
उनै कुमारले गत वैशाखमै खातुनलाई नेपालको चितवन बोलाएका रहेछन् । खातुन दाँतको उपचार गर्न भन्दै ६ महिनाको छोरी बोकेर चितवन आएकी रहिछन् । चितवनको भरतपुर महानगरपालिका–३ भरतपुरस्थित गणेश मार्ग टोलमा खातुन कुमारसँग बस्दै आएको तथ्य खुल्यो । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार कुमारले आफू र खातुनको सम्बन्धका बारेमा परिवारले थाहा पाएपछि हत्या गरेको खुलाएका छन् । नेपाल प्रहरीको टोलीले कुमारलाई बेतिया प्रहरी थानामा गएर भेट्यो पनि । उनले प्रारम्भिक बयानमा सोही कुरा बताएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारी बताउँछन् ।
भारतको बेतिया प्रहरीमा कुमारविरुद्ध उजुरी दर्ता भएपछि उतैको प्रहरीले मुद्दा चलाउने भएको छ । कुमार अहिले बेतिया प्रहरीकै नियन्त्रणमा छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार यो घटना अनुसन्धान निकै जटिल थियो ।
‘शुरूमा त मृतकको पहिचान नै खुलाउन सकस पर्यो,’ काफ्लेले भने, ‘प्रहरीले प्राविधिक सहयोगसँगै भारतीय प्रहरीको सहयोग समेत लिनुपर्यो ।’ खातुनले आफूसँगै ल्याएकी ६ महिनाको छोरीको भने अहिलेसम्म अत्तोपत्तो छैन ।

