शहीद दशरथ चन्द विश्वविद्यालयमा ‘पहुँच’को चलखेल

cp new add
Nisharg hospital

धनगढी ।  शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको स्वास्थ्यकर्मी तथा चिकित्सक भर्ना प्रक्रिया विवादमा परेको छ।

कैलालीको गेटास्थित विश्वविद्यालयले १५१ पदका लागि दरखास्त आह्वान गरेकोमा १ हजार ६६९ जनाले आवेदन दिएका थिए। तर, लिखित परीक्षा नै नलिई ५४४ जनालाई सर्टलिस्ट गरेर अन्तर्वार्तामार्फत कर्मचारी छनोट प्रक्रिया अघि बढाइएको भन्दै आवेदकहरूले असन्तुष्टि जनाएका छन्।

आवेदकहरूले सोर्सफोर्स, पहुँच र भनसुनका आधारमा जागिर दिने चलखेल भएको आशंका गर्दै सबै आवेदकलाई कम्तीमा लिखित परीक्षामा सहभागी हुने समान अवसर दिनुपर्ने माग गरेका छन्। विश्वविद्यालयको चिकित्सक तथा स्वास्थ्यकर्मी छनोटसम्बन्धी निर्देशिका र सर्टलिस्टका आधारसमेत सार्वजनिक रूपमा स्पष्ट नगरिएको भन्दै पदपूर्ति प्रक्रिया पारदर्शी नभएको प्रश्न उठेको छ।

केही आवेदकले सर्टलिस्टमा परेका उम्मेदवारका शैक्षिक प्रमाणपत्र तथा कार्यअनुभवसमेत शंकास्पद रहेको दाबी गरेका छन्। कतिपयले एउटै अवधिमा फरक–फरक संस्थामा काम गरेको अनुभवपत्र बुझाएको र विश्वविद्यालयका पदाधिकारीसँग सम्बन्ध भएका व्यक्तिसमेत सर्टलिस्टमा परेको आरोप लगाएका छन्। यद्यपि, यी आरोपको स्वतन्त्र पुष्टि भने भएको छैन।

विश्वविद्यालयका रजिस्ट्रार डा. भीम चन्दले भने तत्काल जनशक्ति आवश्यक भएकाले लिखित परीक्षा नलिई सर्टलिस्ट र अन्तर्वार्ताको विधि अपनाइएको बताएका छन्। उनका अनुसार शिक्षण अस्पतालमा बिरामीको चाप बढेकाले छिटो कर्मचारी आवश्यक परेको र लिखित परीक्षा लिँदा थप दुई–तीन महिना समय लाग्ने भएकाले उक्त विधि अपनाइएको हो।

चन्दका अनुसार सर्टलिस्ट तयार गर्दा अनुभव, योग्यताबापतको अंक, उपल्लो योग्यता र तालिमलाई आधार बनाइएको छ। छनोट निर्देशिका वेबसाइटमा नराखिए पनि गुपचुप नगरिएको उनको दाबी छ। तर, दरखास्त आह्वानमा तोकिएको अनुभवको मापदण्ड र सर्टलिस्ट तयार गर्दाको आधारबीच स्पष्टता नरहेको भन्दै आवेदकहरूले भने थप प्रश्न उठाएका छन्।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...