
धनगढी । सुदूरपश्चिम प्रदेशको बजेटलाई लिएर प्रदेश सरकारभित्र असन्तुष्टि बढिरहेका बेला भौतिक पूर्वाधार विकासमन्त्री ओमविक्रम भाट ‘सरल’ले आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लप्रति व्यंग्यात्मक कटाक्ष गरेका छन् ।
मन्त्री भाटले बुधबार सामाजिक सञ्जालमार्फत ‘राजा र रंक’ शीर्षकको कविता सार्वजनिक गर्दै अर्थ मन्त्रालयसँग बजेटको चाबी र स्रोतको अधिकार केन्द्रित भएको भन्दै असन्तुष्टि जनाएका हुन् ।
उनले अन्य मन्त्रालयका मन्त्रीहरू सडक, पुल, खानेपानीलगायतका योजना बोकेर बजेट माग्न अर्थ मन्त्रालयको ढोकामा लाइन बस्नुपर्ने अवस्था रहेको भन्दै अर्थमन्त्रीलाई ‘राजा’को उपमा दिएका छन् ।
‘एउटा मन्त्रालयमा राजा जन्मिएछ, अर्थको मुकुट शिरमा सजिएछ। बाँकी मन्त्रीहरू रंक ठानिएछन्, बजेटका लागि ढोकामा लाइन बसेछन्,’ उनले कवितामार्फत भनेका छन् ।
मन्त्री भाटले गणतन्त्र आए पनि बजेट बाँडफाँटमा ‘दरबारको व्यवहार’ कायमै रहेको भन्दै प्रश्न गरेका छन् । उनले लेखेका छन्, ‘गणतन्त्र आए पनि दरबार उस्तै, मुकुट फेरियो, व्यवहार उस्तै । मन्त्री धेरै, अधिकार एउटै, राजा एउटै रंक धेरै ।’
बजेटको अधिकार अस्थायी भए पनि जनताको मूल्याङ्कन स्थायी हुने चेतावनी दिँदै भाटले कविताको अन्त्यमा लेखेका छन्, ‘बजेटको सिंहासन अस्थायी हो, जनताको अदालत स्थायी हो ।’
सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट ल्याउन नसक्दा प्रदेश सरकारका कामकारबाही प्रभावित हुँदै आएका छन् । बजेट निर्माण र बाँडफाँटलाई लिएर सरकारभित्रै असन्तुष्टि बढिरहेका बेला भौतिक पूर्वाधारमन्त्री भाटको पछिल्लो अभिव्यक्तिलाई अर्थ मन्त्रालयप्रति लक्षित सार्वजनिक असन्तुष्टिका रूपमा हेरिएको छ ।
मन्त्री भाट र अर्थमन्त्री मल्ल एउटै प्रदेश सरकारमा रहे पनि बजेट व्यवस्थापन तथा मन्त्रालयगत योजनाका विषयमा देखिएको मतभेद पछिल्लो अभिव्यक्तिसँगै सार्वजनिक भएको हो ।
सुदूरपश्चिममा नेकपा र नेकपा एमालेको संयुक्त सरकार छ । भाट नेकपाबाट र मल्ल एमालेबाट मन्त्री बनेका हुन् । प्रदेश सरकारले आजै चालु आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेको छ।
यस्तो छ मन्त्री भाटको कविता
राजा र रंक
एउटा मन्त्रालयमा राजा जन्मिएछ,
अर्थको मुकुट शिरमा सजिएछ।
बाँकी मन्त्रीहरू रंक ठानिएछन्,
बजेटका लागि ढोकामा लाइन बसेछन्।
राजासँग चाबी छ कोषको,
राजासँग शक्ति छ भ्रमको।
अरू मन्त्री योजना बोकेर आउँछन्,
राजाको ढोकामा हात जोडेर फर्किन्छन्।
कसैको मन्त्रालय सडक माग्छ,
कसैको पुल, कसैको पानी,
राजा मुस्कुराउँदै भन्छन्
पहिले हेरौँ, कति छ खानी!
गणतन्त्र आए पनि दरबार उस्तै,
मुकुट फेरियो, व्यवहार उस्तै।
मन्त्री धेरै, अधिकार एउटै,
राजा एउटै रंक धेरै!
तर इतिहासले एउटा कुरा लेख्छ,
राजा धेरै दिन राजा रहँदैन,
रंक सधैँ रंक रहँदैन।
बजेटको सिंहासन अस्थायी हो,
जनताको अदालत स्थायी हो।

