
काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ नापी कार्यालय, डिल्लीबजारअन्तर्गत ३ नम्बर नापी टोली, माछापोखरीमा कार्यरत नापी अधिकृत डिल्लीबहादुर वलीविरुद्ध घुस (रिसवत) लिई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौँमा बिहीबार आरोपपत्र दायर गरेको छ।
आयोगका अनुसार छुट जग्गा दर्ता सिफारिससहितको मिसिल पत्र भूमि प्रशासन कार्यालय, मनमैजु, काठमाडौँमा पठाउने कार्यका लागि वलीले सेवाग्राहीलाई दुःख, हैरानी तथा सास्ती दिई घूस माग गरिरहेको भन्ने सूचना प्राप्त भएको थियो। उक्त सूचनाका आधारमा आयोगको टंगालबाट खटिएको टोलीले नापी अधिकृत वलीलाई घुस रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।
घटनाबारे थप अनुसन्धान गर्दा वलीले सेवाग्राहीसँग रु १० लाख घुस माग गरी लिएको पुष्टि भएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए। आयोगले वलीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको ठहर गर्दै रु १० लाख बिगो कायम गरेको छ।

