
काठमाडौं । गृह मन्त्रालयले कार्यविधिविपरीत व्यक्तिगत सुरक्षाकर्मी (पीएसओ) खटाउनेहरूलाई सात दिनभित्र सम्बन्धित दरबन्दी कार्यालयमा फिर्ता पठाउन निर्देशन दिएको छ।
‘अति विशिष्ट तथा विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०८१’ विपरीत सुरक्षाकर्मीलाई व्यक्तिगत तथा घरायसी काममा प्रयोग गर्ने प्रवृत्ति बढेको गुनासोपछि मन्त्रालयले यस्तो निर्देशन दिएको हो।
मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेद्वारा जारी सार्वजनिक सूचनामा कार्यविधिविपरीत खटाइएका सुरक्षाकर्मीलाई सात दिनभित्र फिर्ता गर्न भनिएको छ। मन्त्रालयले यसअघि असोज २२ गते नै सम्बन्धित निकायलाई यस्तो अभ्यास तत्काल रोक्न निर्देशन दिइसकेको जनाएको छ।
निर्देशनको अवज्ञा गरी सुरक्षाकर्मीलाई नियमविपरीत खटाएको पाइएमा सम्बन्धित अधिकारी तथा पदाधिकारीमाथि कानुनी कारबाही गरिने मन्त्रालयले चेतावनी दिएको छ।
मन्त्रालयले अझै पनि सुरक्षाकर्मीलाई व्यक्तिगत काममा लगाइएको पाइएमा त्यसबारे जानकारी दिन सर्वसाधारण तथा सुरक्षाकर्मीलाई आग्रह गरेको छ। यसका लागि गृह मन्त्रालयको कल सेन्टरको मोबाइल नम्बर ९८५१३६०६०३ मा सम्पर्क गरी गोप्य रूपमा सूचना दिन सकिनेछ। सूचना दिने व्यक्तिको नाम र परिचय गोप्य राखिने मन्त्रालयले स्पष्ट पारेको छ।
गृहमन्त्री सुधन गुरुङले देश र जनताको सेवाका लागि भर्ती भएका सुरक्षाकर्मीलाई व्यक्तिगत काममा लगाउनु अन्यायपूर्ण भएको बताएका छन्। यस्तो प्रवृत्ति स्थायी रूपमा अन्त्य गर्न दुवै प्रहरी ऐनमा आवश्यक संशोधनको प्रस्तावसमेत अघि बढाइएको उनले बताएका छन्।
यसैबीच, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराष्ट्रपतिको हैसियतमा पाउँदै आएको नेपाली सेनाको सुरक्षा पार्टी राजनीतिमा फर्किएपछि पनि निरन्तर राखेको विषय चर्चामा छ। नेकपा एमालेको राजनीतिमा सक्रिय भएकी भण्डारीलाई पार्टीले वरिष्ठ नेताको जिम्मेवारी दिएपछि पनि उनी सैनिक सुरक्षासहित हिँडिरहेको विषयमा प्रश्न उठेको हो।

