


काठमाडौँ। नेपाल टेलिकमका ग्राहकहरूले अब कम्पनीको सिमकार्ड हुलाक सेवामार्फत सोझै घरमै प्राप्त गर्न सक्ने भएका छन्। नेपाल टेलिकम र हुलाक सेवा विभागको सहकार्यमा बुधबारदेखि यो नयाँ सेवा औपचारिक रूपमा सुरु गरिएको हो।



हुलाक सेवा विभागमा आयोजित एक विशेष कार्यक्रमका बिच सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमल्सिनाले उक्त सेवाको शुभारम्भ गरे। कार्यक्रमकै क्रममा मन्त्री तिमल्सिनाले हुलाक सेवामार्फत सिमकार्ड ग्रहणसमेत गरेका थिए।




सेवा शुभारम्भ गर्दै सञ्चारमन्त्री तिमल्सिनाले हुलाकको देशव्यापी सञ्जालको अधिकतम उपयोग गरी सिमकार्ड वितरणलाई प्रभावकारी र द्रुत बनाउन निर्देशन दिए। तोकिएको समयभन्दा अगावै डेलिभरी गर्ने प्रयास गर्न र नागरिकको सन्तुष्टिका आधारमा सेवालाई परिमार्जन गर्दै लैजानुपर्नेमा उनले जोड दिए। साथै, भविष्यमा हुलाकको क्षमता विस्तार गरी सहरी क्षेत्रमा केही घण्टाभित्रै सामग्री डेलिभरी गर्न सक्ने बनाइने उनले बताए।

सरकारी स्वामित्वका दुई प्रमुख संस्था नेपाल टेलिकम र हुलाक सेवा विभागबिचको यो सहकार्यले नागरिकलाई सर्वसुलभ, गुणस्तरीय र प्रभावकारी सेवा पुर्याउन ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।






