


काठमाडौँ । जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको घटनाप्रति नेपाल पत्रकार महासङ्घले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।


सत्तासीन दल राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कलाकार हिमेश पन्तले दिएको उजुरीका आधारमा प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको हो । पन्तले धादिङमा छिमेकीको १० रोपनी जग्गा हडपेको विषयमा जनआस्था साप्ताहिकमा समाचार प्रकाशित भएको थियो ।






सोही समाचारको विषयमा परेको उजुरीलाई लिएर वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सन्तोष खड्कासहितको प्रहरी टोलीले आज श्रेष्ठलाई ललितपुरको नख्खुस्थित निवासबाट पक्राउ गरेको हो ।

समाचारमा चित्त नबुझेका विषय भए प्रचलित र स्थापित विधिअनुरूप समाधान नखोजी साइबर ब्युरोमार्फत पक्राउ गर्नु प्रेस स्वतन्त्रता र संविधानविपरीत रहेको महासङ्घको ठहर छ । यो घटनाले लोकतान्त्रिक मूल्य–मान्यता र स्वतन्त्र प्रेसको विश्वव्यापी मान्यतालाई खिल्ली उडाउने काम गरेको महासङ्घले जनाएको छ ।
प्रेस काउन्सिल नेपालको क्षेत्राधिकार समेत मिचेर राज्यसत्ताको आडमा भएको यो स्वेच्छाचारी शैलीप्रति खेद प्रकट गर्दै महासङ्घले कडा भर्त्सना गरेको छ ।
महासङ्घले प्रेस विरोधी यस्ता व्यवहार सच्याउन तथा पत्रकार श्रेष्ठलाई बिनासर्त तत्काल रिहा गर्न सरकारको ध्यानाकर्षण गराएको छ । साथै, समाचारको विषयमा असमझदारी भए सम्बन्धित निकायमार्फत समाधान खोज्न सम्बद्ध पक्षलाई सचेत गराउँदै आफ्नो क्षेत्राधिकारको विषयमा प्रभावकारी भूमिका निर्वाह गर्न प्रेस काउन्सिल नेपाललाई आग्रह समेत गरेको छ ।






