


कञ्चनपुर । डडेलधुराको परशुरामस्थित गप्तीगडाका जिते धामी दुई दशकदेखि महेन्द्रनगरमा दसैँतिहारका लागि खसीबोका ल्याउने गरिरहेका छन्। दसैँ सुरु भएपछि उनी आफ्ना र गाउँबाट संकलन गरेर बिक्रीका लागि खसीबोका ल्याउने गरेका हुन्। यस पटक पनि उनी चार दिनदेखि खसीबोका बिक्री गर्न महेन्द्रनगरमै छन्।


‘यो पाला त गाउँमा खसीबोका निकै कम पाइयो, थोरै मात्रै ल्याएर आयौँ,’ धामीले भने, ‘काठमाडौँका व्यापारी गाउँमै पुगेर महँगोमा खरिद गरेर लगे, हामीले खरिद गर्नै पाएनौँ।’ विगतका वर्षमा १०र१२ जनाले अढाईरतीन सय हाराहारी खसीबोका ल्याउने गरेका थिए। तर यस पटक विगतको भन्दा आधा मात्रै आएको धामीले बताए।





मलास क्षेत्रका खसीबोका महेन्द्रनगर झरेपछि मात्रै दसैँको माहोल तात्छ। पूजाआजाका लागि होस् वा मासु खानका लागि अहिले मलासकै खसीबोकाको भर पर्नुपर्ने भएको स्थानीय बताउँछन्।


खसीबोका ल्याउँदा बाटोमा निकै गाह्रो हुने अनि बाटोमा स्थानीय तहहरूले विभिन्न बहानाका कर लिन खोज्ने र यहाँ पुगेपछि पनि खानेबस्ने समस्या हुने भएकाले हालका वर्षमा डडेलधुराको मलास क्षेत्रबाट खसीबोका ल्याउने क्रम कम भएको छ।
मलास क्षेत्रबाट खसीबोकासहित हिँडेर महेन्द्रनगर पुग्न तीन दिन लाग्छ। पहिलो दिन चुरे क्षेत्रको जंगलमै बास हुन्छ। दोस्रो दिन दैजी र तेस्रो दिन मात्रै महेन्द्रनगर पुगिने धामी बताउँछन्। ‘बेदकोट नगरपालिका क्षेत्रमा पुग्ने बेला नगर प्रहरीले निकै दुःख दियो, कर काटेर मात्रै जान दिने भन्यो,’ धामीले भने, ‘हामीले आफ्नै गाईभैँसीका दूध, घिउ र आफैँले पालेको खसीबोका बेच्न नपाउने भयौँ।’ उनले लामो रस्साकस्सीपछि मात्रै कर नतिरेरै बेदकोटबाट छाडेको बताए।
विगतका वर्षमा पनि मलास क्षेत्रबाट खसीबोका ल्याएर आउनेहरूले दुई सयदेखि एक हजारसम्म कर तिरेका थिए। त्यतिबेला पनि स्थानीय र बाख्रा बिक्री गर्न ल्याएकाहरूले निकै विरोध गरेका थिए।
पत्रकार भवानी भट्टले यो समाचार कान्तिपुर दैनिकमा लेखेका छन् ।






