


धनगढी । कैलालीको भजनीमा बोक्सीको आरोप लगाउँदै एक महिलामाथि कुटपिट गरेको आरोपमा चार जना पक्राउ परेका छन् ।


भजनी नगरपालिका–५, मिलनपुरकी ५६ वर्षीया महिलामाथि बोक्सीको आरोप लगाउँदै कुटपिट गरेको अभियोगमा सोही ठाउँका कृष्ण डगौरा, राजु डगौरा, राजन डगौरा र उर्मिला डगौरालाई प्रहरीले पक्राउ गरेको हो ।






कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र चन्दका अनुसार मंगलबार राति करिब ९ बजे चारै जना महिलाको घरमा पुगेका थिए । उनीहरूले सीतादेवी डगौरा (नाम परिवर्तन) लाई बोक्सीको आरोप लगाउँदै कुटपिट गर्नुका साथै उनकी नातिनीलाई समेत कुटपिट गरेको जाहेरीमा उल्लेख छ ।

कुटपिटबाट महिला र उनकी नातिनीको अवस्था सामान्य रहेको जनाइएको छ । घटनापछि पीडितले बुधबार इलाका प्रहरी कार्यालय भजनीमा बोक्सीको आरोपसम्बन्धी कसुरमा जाहेरी दिएपछि प्रहरीले चारै जनालाई उनीहरूकै घरबाट पक्राउ गरेको हो ।
प्रहरीले आरोपितहरूविरुद्ध बोक्सीको आरोपसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी कैलाली जिल्ला अदालतबाट म्याद थप गरेर थप अनुसन्धान गरिरहेको जनाएको छ ।






