


धनगढी । कैलालीमा बिजुलीको तार हटाउने क्रममा करेन्ट लागेर टिप्पर चालकको मृत्यु भएको छ । गोदावरी नगरपालिका–३ मालिका टोलमा बिजुलीको तार हटाउने क्रममा करेन्ट लागेर जानकी गाउँपालिका–६ निवासी ३१ वर्षीय धनिराम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनी भागेश्वर कन्स्ट्रक्सनमा कार्यरत थिए ।



बुधबार बिहान सडकमा काम गर्ने क्रममा टिप्परमाथि चढेर सडक किनारमा रहेको बिजुलीको तार हटाउने प्रयास गर्दा चौधरीलाई दाहिने खुट्टामा करेन्ट लागेको थियो । गम्भीर घाइते उनलाई उपचारका लागि अत्तरियास्थित अस्पताल लगिएकोमा बिहान ११ः३० बजे उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।





घटनाका बेला सोही सडक खण्डमा नालीको माटो बोकिरहेको अर्को टिप्परका चालक कञ्चनपुरको भीमदत्त नगरपालिका–१३ निवासी ३१ वर्षीय प्रकाश ठगुन्ना रहेको खुलेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनामा संलग्न टिप्पर प्रहरीको नियन्त्रणमा रहेको छ।






