


काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा एक अनौठो घटना सार्वजनिक भएको छ। एक व्यक्तिले आफ्नै छोरासँग मिलेर श्रीमतीका करोडौँ रुपैयाँका गरगहना, महँगा घडी र नगद चोरी गरेका छन्। घटनामा संलग्न बाबुछोरालाई अदालतले जेल सजाय सुनाउनुका साथै करिब ४० करोड रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश दिएको छ।


श्रीमान्–श्रीमतीबीच लामो समयदेखि विवाद चलिरहेको थियो। यही क्रममा श्रीमान्ले छोरासँग मिलेर घरमा राखिएका श्रीमतीका बहुमूल्य सामान चोरी गरेको आरोप लागेको थियो। उनीहरूले १०० भन्दा बढी सुन तथा हिराका गरगहना, महँगा घडी र ठूलो परिमाणमा नगद चोरी गरेका थिए। चोरी भएका सामानको कुल मूल्य १ करोड ५१ लाख दिराम अर्थात् करिब ३८ करोड रुपैयाँ रहेको बताइएको छ।





चोरीको घटना थाहा पाएपछि श्रीमतीले प्रहरी र अदालतमा उजुरी दिएकी थिइन्। आपराधिक अदालतमा भएको सुनुवाइपछि श्रीमान् र छोरालाई चोरीको दोषी ठहर गर्दै जनही एक वर्ष जेल सजाय सुनाइएको थियो। साथै चोरी भएका सामानको मूल्य बराबर १ करोड ५१ लाख दिराम तिर्न पनि अदालतले आदेश दिएको थियो।


तर, उक्त सजायबाट श्रीमती सन्तुष्ट भइनन्। चोरीका कारण गरगहना र नगद मात्र गुमाउनु परेको नभई मानसिक तनाव र आर्थिक क्षतिसमेत व्यहोर्नुपरेको भन्दै उनले सिभिल अदालतमा छुट्टै मुद्दा दायर गरिन्। उनले ५ करोड दिराम अर्थात् करिब १२५ करोड रुपैयाँ क्षतिपूर्ति माग गरेकी थिइन्।
उनले अदालतमा गरगहना चोरी भएको समयपछि सुनको मूल्य करिब ७० प्रतिशतले बढेको भन्दै त्यसबाट प्राप्त हुन सक्ने लाभ गुमाएको दाबीसमेत गरेकी थिइन्। सुनको मूल्य वृद्धिका कारण करिब १ करोड १० लाख दिराम बराबरको सम्भावित नाफा गुमाएको उनको जिकिर थियो। त्यस्तै, मानसिक पीडाबापत २ करोड ३९ लाख दिराम क्षतिपूर्ति माग गरिएको थियो।
तर अदालतले सुनको मूल्य बढेका कारण हुन सक्ने सम्भावित नाफाको क्षतिपूर्ति दिने माग स्वीकार गरेन। वास्तवमा प्राप्त नभएको सम्भावित लाभका आधारमा क्षतिपूर्ति दिन नमिल्ने अदालतको ठहर थियो।
यद्यपि, श्रीमतीले १८ महिनाभन्दा बढी समयसम्म आफ्ना बहुमूल्य सामानबाट वञ्चित हुनुपरेको र ती सामान फिर्ता पाउन लामो कानुनी लडाइँ लड्नुपरेको अवस्थालाई अदालतले ध्यानमा राख्यो। यसबाट भएको मानसिक पीडाबापत थप १० लाख दिराम क्षतिपूर्ति दिन अदालतले आदेश दिएको छ।
यससँगै श्रीमान् र छोराले संयुक्त रूपमा १ करोड ६१ लाख दिराम अर्थात् करिब ४० करोड रुपैयाँ तिर्नुपर्ने भएको छ। उक्त रकममा चोरी भएका सामानको मूल्य र मानसिक तथा आर्थिक क्षतिबापतको क्षतिपूर्ति समावेश छ।






