


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अदालत, सरकार र राज्यका विभिन्न निकायसँग जोडिएर सार्वजनिक भएको बिचौलिया प्रकरणको गहिराइमा पुगेर निष्पक्ष छानबिन गर्नुपर्ने बताएका छन् ।


सिंहदरबारमा बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रश्न उठिसकेपछि त्यसको गम्भीर अनुसन्धान हुनुपर्ने बताए ।






उनले भनेन, ‘अदालत, सरकार र समग्र राज्य संरचनालाई बिचौलियामुक्त बनाउन आवश्यक छ। सरकार आफैँसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन गर्न सक्ने हो कि होइन भन्ने प्रश्न उठेको छ। हामीले चाहेको यसको निष्पक्ष छानबिन हो। दूधको दूध, पानीको पानी छुटाइनुपर्छ। अब त्यसको निष्पक्षतामाथि पनि हाम्रो प्रश्न उठेको स्थिति छ ।’

बिचौलिया प्रकरणमा सरकार, अदालत, प्रहरी प्रशासन तथा अन्य महत्त्वपूर्ण पक्षको नाम जोडिएर आएका विषयलाई सामान्य रूपमा लिन नमिल्ने बताए। सबै पक्षको संलग्नता र भूमिकाबारे निष्पक्ष रूपमा अनुसन्धान हुनुपर्ने बताए। बिचौलिया प्रकरण, पत्रकारमाथिको हस्तक्षेप, प्रहरी प्रशासनको भूमिका तथा न्यायालयसँग जोडिएका विवादित विषयको निष्पक्ष छानबिनका लागि संसद्को बैठक तत्काल बोलाउनुपर्ने बताए।
पछिल्लो समय पत्रकार तथा सञ्चारमाध्यममाथि भइरहेको हस्तक्षेपप्रति पनि गम्भीर आपत्ति जनाए।
दुई तिहाइको सरकार बनेपछि प्रेस स्वतन्त्रता थप बलियो हुने अपेक्षा गरिए पनि त्यसको विपरीत पत्रकारलाई नियन्त्रण गर्ने, तर्साउने र समाचार लेखेकै आधारमा दबाब दिने काम भएको आरोप लगाए।






