


अमेरिकाको एक संघीय अदालतले निर्वाचन प्रक्रियामा संलग्न स्थानीय तथा राज्यस्तरका अधिकारीलाई आपराधिक मुद्दा लगाउने धम्की नदिन राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनलाई आदेश दिएको छ ।



क्यालिफोर्नियाका न्यायाधीश ट्रिना थम्पसनले गैरनागरिकले मतदान गरेको आशंकामा मतपत्र छुट्याउन वा प्रक्रिया रोक्न निर्वाचन अधिकारीलाई दबाब नदिन न्याय मन्त्रालयलाई निर्देशन दिएका हुन् ।





ट्रम्प प्रशासनले क्यालिफोर्नियाका करिब २० हजार मतदाताको मतपत्र रोक्न माग गर्दै अधिकारीलाई पत्र पठाएको थियो । माग पालना नगरे आपराधिक कारबाही गर्ने चेतावनीसमेत दिइएको थियो ।

अदालतले प्रशासनको यस्तो कदमले वैध मतदाताको मतदान अधिकार खोसिन सक्ने र निर्वाचन प्रक्रियामा हस्तक्षेप हुने ठहर गरेको छ । ट्रम्पले भने अदालतको आदेशको आलोचना गर्दै निर्वाचनको निष्पक्षताका लागि आफ्नो अभियान जारी राख्ने बताएका छन् ।






